काठमाडौं । सुदूरपश्चिम प्रदेशका दार्चुलासहित विभिन्न जिल्लामा आज साउन १ गते परम्परागत रुपमा लुतो पर्व मनाउने चलन छ ।
साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व रोगव्याधि, लुतो प्रतीकात्मक रूपमा घर र गाउँबाट बाहिर पठाउने विश्वाससँग जोडिएको छ ।
पर्वका अवसरमा साँझपख स्थानीय बासिन्दाले सल्लोको दियालो, सुक्खा काठ तथा अन्य स्थानीय सामग्रीबाट बनाइएको राँको (मशाल) बाली घर, आँगन, गोठ र खेतबारी वरिपरि घुमाउने गर्छन् । त्यसपछि राँकोलाई गाउँको सीमा, चौबाटो वा खोल्सोतर्फ लगेर फाल्ने परम्परा छ ।
दार्चुलाका ग्रामीण बस्तीमा विशेष गरी युवायुवती र बालबालिका सामूहिक रूपमा राँको बोकेर चौबाटोमा जम्मा भैइ ‘लुतो जा…’, रोग भागोस्…’ भन्दै यो पर्व मनाइने गरेको स्थानिय देवकी धामी बताउँछिन् ।
उनले भनिन्, ‘संक्रान्तिका दिन दिउँसो गाउँका मानिसहरू जङ्गल वा झाडीमा गएर औषधीय गुण भएका वनस्पतिहरू संकलन गर्छन् । यसमा कुरिलो, तितेपाती, पानीसरो, लुतेझार, सिस्नु र धुपी जस्ता वनस्पतिहरू समावेश हुन्छन् । साँझपख घरको आँगन वा चोकमा बिमिरो, निबुवा वा अन्य फलफूलका साथमा संकलन गरिएका वनस्पतिहरू राखेर ‘कण्डारक’ नामक रात्रिचर राक्षसको प्रतीकात्मक पूजा गरिन्छ । पूजा सकिएपछि कुरिलोको डाँठ वा सल्लाको दाउरा जोडेर राँको वा अगुल्टो बालिन्छ । बलिरहेको त्यो अगुल्टोलाई घरको चारैतिर घुमाएर ‘लुतो जा…’ भन्दै गाउँको खोल्सा, चौर वा अलि टाढा पुग्ने गरी हुत्याइन्छ ।’
पहाडी भेगमा ‘हाम्रो गाउँको लुतो उता जाओस्, भन्दै छरछिमेकी वा वारी–पारी गाउँका मानिसहरू एकापसमा ठट्टा गर्दै कराउने र अगुल्टो फाल्ने चलन पनि छ ।
अगुल्टो फालिसकेपछि बाहिरको रोग वा नकारात्मक शक्ति पुनः घरभित्र नपसोस् भनेर केही समयका लागि घरको मूल ढोका बलियो गरी बन्द समेत गरिन्छ । सुदूरपश्चिमको संस्कृतिमा साउने संक्रान्तिलाई चेलीबेटी र आफन्तहरूलाई बोलाएर मीठा–मीठा परिकार (जस्तैः सेलरोटी, पुरी, खिर) खुवाउने र सुख–दुःख साटासाट गर्ने पर्वका रूपमा पनि मनाइन्छ ।
कतिपय स्थानमा तितेपातीलगायत औषधीय गुण भएका वनस्पतिको प्रयोग गर्ने तथा घर–आँगन सरसफाइ गर्ने चलन पनि कायमै छ ।
लोकविश्वासअनुसार लुतो पर्व मनाउँदा छालासम्बन्धी रोग, रोगव्याधि तथा नकारात्मक शक्तिबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।
दार्चुलासँगै बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम, कैलाली र कञ्चनपुरलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि परम्परागत विधिअनुसार लुतो पर्व हर्षोल्लासका साथ मनाइन्छ ।
तर पछिल्लो समय यो पर्व लोभ हुँदै गैइरहेको छ । स्थानीय संस्कृति, पहिचान र सामुदायिक एकताको प्रतीक मानिने यो पर्वको संरक्षणमा समयमै पहल नगरे भावी पुस्ताले यसको मौलिक स्वरूप देख्न नपाउने चिन्ता बढ्दै गएको छ ।
यस्तै कर्णाली प्रदेशको मुगुमा पनि परम्परागत लुतो पर्व विशेष छ । स्थानीयवासीले पूरानो धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार राँको बालेर अनिकाल, रोग–व्याधि र दुःख हटोस् भन्ने कामना गर्दै पर्व मनाउँछन् ।
स्थानीय भीमचन्द हमालका अनुसार मुगुमा लुतो पर्वका दिन स्थानीय रूपमा तयार गरिएको झरो ल्याएर राँको बाल्ने चलन रहेको छ । राँको घुमाउँदै ‘अनिकाल लैजा, सुप्रकाल दिजा, रोग लैजा, निरोगी हौँ’ भन्दै राम्रो समयको कामना गर्ने परम्परा रहेको उनले बताए ।
‘यहाँका जति दुःख, पीडा र समस्या छन्, ती सबैलाई राँकोसँगै घुमाएर फाल्ने चलन छ, हाम्रो स्थानीय झरो ल्याएर राँको हाल्ने चलन छ । अनि अनिकाल लैजा, सुप्रकाल दिजा, रोग लैजा, निरोगी हौँ। यहाँको जेसुकै दुख जति भयो भनेर त्यो घुमाएर फाल्ने चलन पनि छ । लुतो पर्वको दिन ।’
लुतो पर्वलाई स्थानीय संस्कार, विश्वास र सामूहिक एकताको प्रतीकका रूपमा मनाउने गरिन्छ । यस अवसरमा गाउँघरमा नकारात्मक शक्ति हटोस् र सुख, शान्ति तथा समृद्धि आओस् भन्ने कामना गर्ने परम्परा रहेको छ ।
यसैबीच नेपाल न्यूज बैंकको कुराकानीमा उपप्राध्यापक डा.नारायण प्रसाद निरौलालेपनि लुतो फाल्नेलगायतका सांस्कृतिक परम्पराले पनि समाजमा स्वास्थ्य, आरोग्य र शुभकामनाको सन्देश दिने बताए ।
उनले यस्ता संस्कारहरूले धार्मिक विश्वाससँगै जनस्वास्थ्य र सामाजिक एकताको भावना पनि बलियो बनाउने बताए ।
उनले विभिन्न समुदायमा यस पर्वलाई आ–आफ्नै परम्परा, संस्कृति र विधिअनुसार मनाउने चलन रहेको बताए । उनले धार्मिक आस्थाका साथै स्थानीय संस्कृतिको संरक्षण र निरन्तरतामा पनि साउने सङ्क्रान्तिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले भने, ‘मनाउने आ–आफ्ना पद्धतिहरु छन्, आफ्ना संस्कृतिहरु छन्, आफ्ना चाडपर्वहरु आफ्नो तरिकाले पनि मनाउन सकिन्छ । र धार्मिक अर्थात खगोलीय रुपमा पनि यसको परिदृश्य प्रत्यक्ष दर्शन पनि गर्न सक्छौं । विशेषगरी यो महिनामा वर्षा ऋतुको पनि आरम्भ हुन्छ । यस सँगसँगै हाम्रा संस्कृतिहरु पनि साथमा जोडिएर आएका हुन्छन् ।’
लुतो फाल्ने भन्नुको मतलब कण्डारकको पूजा गर्नु पनि हो । कण्डारकलाई राक्षसका देवताका रूपमा मानिने विश्वास छ ।
उनले भने, ‘लुतो फाल्दा कण्डारकको पूजा हुन्छ । कण्डारक भनेका राक्षसका देवताहरु हुन् । बाह्य छालाजन्य लगायतका रोग—व्याधिहरुले भय दिने भएकाले उनको पूजा गरेपछि त्यो भयबाट मुक्ति भइन्छ भन्ने विश्वास छ । किनकी लुतो भनेको पनि रोग हो ।’
डा.निरौलाले ‘लुतो फाल्ने’ पर्व नेपाली समाजमा रोग–व्याधिबाट मुक्ति र आरोग्यको कामना गर्दै मनाइने सांस्कृतिक परम्परा भएको बताए । ‘लुतो’ शब्दले रोगलाई नै संकेत गर्ने भएकाले ‘लुतो फाल्ने’ भन्नुको अर्थ रोगलाई त्यागेर स्वस्थ जीवनको कामना गर्नु रहेको उनले बताए । उनले यस पर्वमा रोगलाई प्रतीकात्मक रूपमा फाल्ने परम्परा रहेको बताए ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्