काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य रहेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले विपद्का बेला प्रभावकारी रूपमा काम गर्न व्यवस्थित प्रशिक्षण आवश्यक पर्ने बताएका हुन्।
उनले केही दिनअघि सुनसरीको देवानगञ्जमा भएको घटनापछि नेपाली कांग्रेसले तत्काल स्थानीय जनप्रतिनिधि र पार्टीका जिम्मेवार व्यक्तिसँग सम्पर्क गरी हिंसा र उत्तेजना फैलिन नदिन सक्रिय भूमिका खेलेको बताए । पार्टीले सामाजिक सद्भाव कायम राख्न निरन्तर प्रयास गरिरहेको उनको भनाइ थियो।
थापाले विपद् व्यवस्थापन आफैंमा छुट्टै विज्ञान भएको उल्लेख गर्दै भावना मात्र भएर नपुग्ने बताए।
उनले भने, ‘विपद्को लागि स्किल पनि चाहिन्छ। के मद्दत गर्ने, कसरी गर्ने भन्ने ज्ञान भएन भने कहिलेकाहीँ मद्दत गर्न खोज्दा पनि झन् अप्ठ्यारो पर्न सक्छ । त्यसैले भावना मात्र भएर हुँदैन, सीप र ज्ञान पनि आवश्यक हुन्छ ।’
उनले देशका ७५३ वटै पालिकामा विपद् व्यवस्थापनमा पार्टीको टोली निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए।
प्रशिक्षण लिएका कार्यकर्ताले देशभर पुगेर अन्यलाई पनि तालिम दिने र विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उनले बताए।
सभापति थापाले नेतृत्वका लागि करुणा सबैभन्दा महत्वपूर्ण गुण भएको उल्लेख गर्दै नागरिकको पीडा महसुस गर्न सक्ने संवेदनशीलता बिना असल नेतृत्व सम्भव नहुने धारणा राखे।
उनले भने, ‘यो समयको नेतृत्वका लागि सबैभन्दा आवश्यक कुरा करुणा हो। अरूको दुःख महसुस गर्न सक्ने, नागरिकको पीडामा साथ दिन सक्ने नेतृत्व नै आजको आवश्यकता हो।’
थापाले राजनीति शक्ति र सत्ताका लागि मात्र नभई मानव सेवा र नागरिक सेवाको माध्यम भएको उल्लेख गर्दै कांग्रेसले सोही मूल्यमान्यतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
साथै प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमले पार्टीका कार्यकर्तालाई विपद् व्यवस्थापनमा सक्षम र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उपसभापति विश्वप्रकाश शर्माले कसैलेपनि पार्टी र देशका लागि भन्दापनि समाजका लागि काम गर्नुपर्ने औंल्याउँदै सीप अनुसार विपद् व्यवस्थापनमा काम गर्नुपर्ने बताए ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्