Skip to content

कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

nmb bank inside

खेमराज सापकोटा

विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ ।

कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ । तर, कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्टता आउन सकेको छैन ।

केन्द्रमा भएको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै भागमा परेको छ । यद्यपि, हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने कि नयाँ नेतृत्व अघि सार्ने भन्ने विषयमा एमालेभित्र नै ठोस निर्णय भइनसकेकाले सरकार परिवर्तनको मिति अन्योलमा परेको हो ।

एमालेका नेता तथा पूर्वमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकार तत्काल परिवर्तन हुने अवस्था नरहेको बताए । उनका अनुसार केन्द्रमा सत्ता सहमति भएपनि कोशी प्रदेशमा सरकार गठनबारे दलहरूबीच औपचारिक छलफल भएको छैन ।

‘अहिले कोशीमा कांग्रेस सरकारमै छ । कांग्रेस बाहिरिएको पनि छैन र सरकारमा आउने दलसँग पनि औपचारिक छलफल भएको छैन । त्यसैले तत्काल सरकार परिवर्तन हुन्छ भन्ने अवस्था छैन,’ उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने ।

यता नेपाली कांग्रेसले भने केन्द्रको निर्णयअनुसार अब सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट संकेत दिएको छ ।

कोशी प्रदेश सभापति तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्णयअनुसार कांग्रेस प्रतिपक्षमा बस्ने बताए । उनका अनुसार अब प्रदेशमा पनि नयाँ सत्ता समीकरणअनुसार प्रक्रिया अघि बढ्नेछ ।

हाल कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार एमालेका सचिवसमेत रहेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्