Skip to content

प्रभु बैंकका सञ्चालक अर्याल जोडिएको तत्कालीन एनसीसी बैंकको ‘ऋण काण्ड’, १ करोडको जग्गाको १७ करोड भ्यालुएसन !

nmb bank inside

काठमाडौँ । बैंकबाट ऋण लिन सामान्य ग्राहकले लामो प्रक्रिया पार गर्नुपर्छ । जग्गाको मूल्यांकन, कागजात परीक्षण, जोखिम विश्लेषणदेखि विभिन्न तहको स्वीकृतिसम्म पुग्दा हप्तौं वा महिनौं लाग्नु असामान्य होइन । तर, सुन्दा अचम्म लाग्न सक्छ, एउटा जग्गा १ करोड १७ लाख रुपैयाँमा किनियो, किनिएकै दिन त्यसको मूल्य १५ गुणाभन्दा बढी बढाएर मूल्यांकन गरियो, त्यसको तीन दिनभित्रै करोडौं रुपैयाँ ऋण प्रवाह भयो । अझ खास कुरा त सो ऋण न उठेपछि कम्पनी कालोसूचीमा पर्यो । तर पनि बैंकले यसरी ऋण दिने काम रोकिएन ।

यसरी ओभरभ्यालुएसन गरेको ऋण नउठ्दा पनि नचेतेको बैंकमा फेरी त्यस्तै घटना घट्यो । फेरी पनि ओभरभ्यालुएसन, कम मूल्यमा जग्गा किनेकै दिन बढी मूल्यको मूल्यांकन गरी त्यसको केहि समयभित्रै फेरि करोडौं ऋण । र यस्तो गम्भीर विषयमा जोडिएका छन् हाल प्रभु बैंकका संचालक रहेका रमेश राज अर्याल ।

अव घटना बुझौँ ।
पहिलो घटनामा १ करोड १७ लाखको जग्गा किनेर, सोही दिन १७ करोड मूल्यांकन गरी त्यसको केहि समयभित्रै ७ करोड ऋण प्रवाह गरिएको छ । राष्ट्र बैंकमा कुमारी बैंकका सेयरधनीले बुझाएको प्रमाण अनुसार हालको कुमारी बैंक अर्थात तत्कालीन एनसीसी बैंकमा रमेश राज अर्याल सीइओ हुँदा कम्पनीले १ करोड १७ लाख रुपैयाँमा खरिद गरेको जग्गाको सोही दिन १७ करोड रुपैयाँ मूल्यांकन गरिएको थियो । त्यसकै आधारमा तीन दिनभित्र ३ करोड रुपैयाँ ऋण स्वीकृत गरियो भने ११ दिनपछि थप ४ करोड रुपैयाँ प्रवाह गर्दै कुल ७ करोड रुपैयाँ कर्जा उपलब्ध गराइएको थियो । पछि ऋण फस्यो ।    दाबी गरिएको छ।

यस्तै अर्को केस पनि कुमारी बैंकमा घटेको पाइएको छ । अर्याल नै सीइओ हुँदा कुमारी बिल्डर्सले १ करोड ५ लाख ९० हजार रुपैयाँमा खरिद गरेको जग्गाको भोलिपल्टै १३ करोड २६ लाख २५ हजार रुपैयाँ मूल्यांकन गरी त्यसको आधारमा ७ करोड ६२ लाख रुपैयाँ ऋण स्वीकृत गरिएको देखिएको छ । पछि उक्त ऋण असुल हुन नसकेपछि सम्बन्धित ऋणीलाई कालोसूचीमा राखिएको थियो ।

त्यसपछि सोही जग्गा खरिदका लागि इण्टरनेशनल क्लबको नाममा तत्कालीन महालक्ष्मी विकास बैंकबाट १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको र त्यसमध्ये १२ करोड ५१ लाख ७५ हजार रुपैयाँ प्रभु बैंकमा रकमान्तर भएको समेत देखिन्छ ।

अनि यो सब पछाडीको कनेक्सन देखिएको छ प्रभु बैंकको अहिलेको घोटाला प्रकरण ।

अहिले प्रभु बैंकले एशियन भिलेज रिसोर्टलाई दिएको ४८ करोड ऋण का विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकले नै कैफियत देखाएपछि सीआईबीले बैंकका तत्कालीन चिफ बिजनेश अफिसर रश्मी पन्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानमा रहेको प्रभु बैंकको संचालकमा तिनै रमेश राज अर्याल छन् र अनुसन्धान भईरहेको एशियन भिलेज रिसोर्टको भ्यालुएसन गर्ने कम्पनी र तत्कालीन एनसीसी बैंकबाट ओभरभ्यालुएसन गरी ऋण लिन सहयोग गर्ने भ्यालुएटर उही भएको दाबीसहित राष्ट्र बैंकमा निवेदन परेको छ ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा रमेशराज अर्याल सम्पर्कमा आएका छैनन्।

रमेशराज अर्याल यसअघि पनि विभिन्न विवादका कारण चर्चामा आएका थिए। कुमारी बैंकबाट बाहिरिने क्रममा गैरकानुनी रूपमा बढी तलब–सुविधा लिएको भन्दै राष्ट्र बैंकले रकम फिर्ता गर्न निर्देशन दिएको थियो।

त्यस्तै, सिटिजन्स बैंकको सञ्चालक पदमा गैरकानुनी रूपमा बसेको भन्दै राष्ट्र बैंकले पद छाड्न निर्देशन दिएको घटना पनि सार्वजनिक भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्