काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहीर अलि भाटले सुनसरीसहित तराई क्षेत्रमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले तराई घटनामा घाइते भएका रविन्द्र कुमार मेहताको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको भन्दै शोक व्यक्त गरे ।
सांसद भाटले धार्मिक ग्रन्थहरूले सबै मानवबीच समानता र सद्भावको सन्देश दिएको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मका मानिसप्रति घृणा गर्न नसिकाउने बताए ।
उनले हिन्दू धर्मको ग्रन्थ गीतामा ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ को भावना रहेको तथा कुरानले पनि सम्पूर्ण मानव समुदायका लागि समान सन्देश दिएको बताए ।
सांसद भाटले नेपालमा लामो समयदेखि धार्मिक सहिष्णुता कायम रहँदै आएको उल्लेख गर्दै पछिल्ला घटनाले सामाजिक सद्भावमा असर पुर्याएको बताए । उनले नेपालका मुस्लिम समुदायले राष्ट्रिय एकता र अखण्डतामा कुनै असर नपुर्याएको दाबी गर्दै सबै नेपाली मिलेर यस्ता घटनाको समाधान खोज्नुपर्ने बताए ।
सुनसरी र तराई क्षेत्रमा उत्पन्न तनाव नियन्त्रणका लागि गृहमन्त्रीले खेलेको भूमिकाको उनले प्रशंसा गरे । विपक्षी दलमा रहे पनि सकारात्मक कामको प्रशंसा गर्नुपर्ने भन्दै उनले गृहमन्त्रीले समयमै पहल गरेर अवस्था नियन्त्रणतर्फ लैजान सहयोग गरेको बताए ।
सांसद भाटले हिन्दू राष्ट्रको विषयमा पनि धारणा राख्दै राप्रपाले माग गरेको हिन्दू राष्ट्रको अवधारणा कुनै समुदायविरुद्ध नभएको स्पष्ट पारे । उनले राप्रपाले सबै धर्मप्रति सम्मान र सर्वधर्म सद्भावको पक्षमा रहेको बताए ।
उनले नेपालमा हिन्दू, मुस्लिम, बौद्ध, इसाईलगायत सबै समुदाय मिलेर बसेको उल्लेख गर्दै धार्मिक द्वन्द्वले देशलाई कमजोर बनाउने बताए । यस्ता घटनाको पुनरावृत्ति रोक्न गाउँ–गाउँसम्म सामाजिक सद्भावको शिक्षा फैलाउनुपर्नेमा उनले जोड दिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्