‘झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर सार्वजनिक, परिवारभित्रको सम्बन्ध र द्वन्द्वको कथा
दर्शकको मायाले जन्मियो ‘झिँगेदाउ २’, केकी–आँचल भन्छन् : ‘फिल्ममा नयाँ आयाम थपिएका छन्’
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित कथानक फिल्म ‘झिँगेदाउ २’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । फिल्म निर्माण पक्षले बुधबार डिजिटल प्लेटफर्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गर्दै पत्रकार सम्मेलनमार्फत फिल्मबारे जानकारीसमेत दिएको छ ।
टिजरले फिल्मको कथावस्तु, पात्रहरूको चरित्र र मुख्य द्वन्द्वलाई संक्षिप्त रूपमा प्रस्तुत गरेको छ । सुखी देखिएको एउटा परिवारमा दुई बुहारीबीच रुखको अंशवण्डाको विषयलाई लिएर विवाद सुरु भएपछि कथाले नयाँ मोड लिन्छ ।
रुखको स्वामित्व रहेकी आमाको उपस्थितिबिना अंशवण्डा सम्भव नहुने भएपछि परिवारले आमाको खोजी गर्न थाल्छ । तर, आमा रहस्यमय रूपमा हराएपछि परिवारको कथा झन् जटिल बन्दै जान्छ । टिजरले परिवारमा पुनः खुसी फर्किन्छ कि सम्पत्तिको विवादले सम्बन्धमा थप दरार ल्याउँछ भन्ने प्रश्न उठाएको छ ।
फिल्ममा केकी अधिकारी र आँचल शर्मा दुई बुहारीको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी र कुशल विष्टले दाजुभाइको भूमिका निर्वाह गरेका छन् । हिउँवाला गौतम आमाको भूमिकामा छिन् ।
फिल्ममा सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी, संगम भण्डारी र विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । टिजरको अन्त्यतिर अभिनेता आर्यन सिग्देललाई नेलले बाँधिएको दृश्यले कथाबारे थप कौतुहलता सिर्जना गरेको छ ।
समाज, पारिवारिक सम्बन्ध, अपेक्षा र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई फिल्ममार्फत प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक देउजाले बताएका छन् । फिल्मको टिजर सार्वजनिक कार्यक्रममा बोल्दै देउजाले पहिलो श्रृंखलाले पाएको दर्शकको साथलाई निरन्तरता दिँदै दोस्रो भागले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
उनले चलचित्र आफ्नो लामो समयदेखिको प्यासन रहेको उल्लेख गर्दै करिब ३५÷३६ वर्षदेखि यस क्षेत्रमा सक्रिय रहेको बताए ।
‘चलचित्र मेरो प्यासन हो । समाज, पारिवारिक सम्बन्ध, अपेक्षा र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई फिल्ममार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ, पहिलो श्रृंखलाले पाएको दर्शकको साथलाई निरन्तरता दिँदै दोस्रो भागले पनि दर्शकको मन जित्ने छ,’ उनले भने ।
यस्तै, अभिनेत्री केकी अधिकारीले टिजरबाटै फिल्मको कथाबारे धेरै अनुमान गर्न सकिने बताइन् । उनले पहिलो भागको कथालाई निरन्तरता दिँदै दोस्रो श्रृंखलामा थप नयाँ र रोचक आयामहरू समेटिएको उल्लेख गरिन् ।
‘टिजरमार्फत नै धेरै कथा अनुमान गर्न सकिन्छ । यो हाम्रो परिवारको कथा हो । अब त्यही कथामा ‘झिँगेदाउ २’मा नयाँ र रोचक आयामहरू थपिएका छन्,’ उनले भनिन् ।
केकीले पहिलो भागको सुटिङ अनुभव स्मरण गर्दै दोस्रो भागको छायांकन पनि निकै रमाइलो भएको बताइन् । उनले फिल्मले सबै पुस्ताका दर्शकलाई जोड्न सक्ने विश्वास व्यक्त गरिन् ।
‘झिँगेदाउ १’मा रुखमुनिको कथा थियो, त्यतिबेला रुख चढ्न पाएका थिएनौँ । तर यसपटक निकै रमाइलो गर्दै सुटिङ सम्पन्न गर्यौं । सबै पुस्तालाई समेट्न सक्ने फिल्म बनेको छ,’ उनले भनिन् ।
अभिनेत्री आँचल शर्माले भने ‘झिँगेदाउ २’ निर्माण हुनुमा पहिलो भागप्रति दर्शकले देखाएको माया र विश्वास मुख्य कारण रहेको बताइन् ।
‘दर्शककै मायाले गर्दा आज हामी ‘झिँगेदाउ २’ बनाउन सफल भएका हौँ । यो ‘झिँगेदाउ १’लाई दर्शकहरूले दिनुभएको मायाको प्रतिफल हो,’ उनले भनिन् ।
फिल्मको पहिलो श्रृंखलाले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । विष्णु घिमिरे (कल्पित) को छायांकन रहेको फिल्म कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपालको प्रस्तुतिमा निर्माण भएको हो । ‘झिँगेदाउ २’ आगामी असोज २ गते (सेप्टेम्बर १८) देखि देशभर प्रदर्शनमा आउनेछ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्