काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अझै जारी रहेको बताएका छन्। उनले संवेदनशील विषयलाई बारम्बार उठाएर पीडित परिवारको घाउ कोट्याउने काम नगर्न पनि आग्रह गरेका छन्।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डमा सरकारले न्याय दिन नसकेको विषय उठाएपछि जवाफ दिँदै गृहमन्त्री गुरुङले देशमा हुने हत्या, हिंसा, बलात्कारलगायतका सबै अपराधको अनुसन्धान चरणबद्ध रूपमा भइरहेको बताए।
उनले भने, ‘सरकार शान्ति सुरक्षा कायम गर्न निरन्तर लागिरहेको छ। माननीयज्यूहरूले उठाउनुभएको विषय अत्यन्त संवेदनशील छ। म पनि प्रश्न गर्न चाहन्छु, तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन? अहिले हामीलाई मात्र जिम्मेवारी बोकाउनुभन्दा पीडित आमाको घाउ कोट्याइरहने कि सूक्ष्म अनुसन्धान गरेर परिणाम दिने भन्ने सोच्नुपर्छ। यो अनुसन्धानको विषय भएकाले धेरै बोल्दिनँ, अनुसन्धान भइरहेको छ।’
गृहमन्त्री गुरुङले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभामा उक्त विषय पुनः नउठाउन आग्रह गर्दै पूरक प्रश्नहरूको जवाफ दिन पनि अस्वीकार गरे।
बैठकमा आत्मदाह रोकथामका लागि सरकारले गरिरहेका प्रयासबारे बोल्दै उनले मानसिक स्वास्थ्य समस्या र युवामा बढ्दो निराशा चुनौतीका रूपमा देखिएको बताए।
उनले भने, ‘तीनै तहका सरकारबीच समन्वय गरेर योजना बनाइरहेका छौं। आत्महत्या रोकथामका लागि २४सै घण्टा सञ्चालन हुने हेल्पलाइन ११६६ पनि सञ्चालनमा ल्याएका छौं, जहाँ फोन गरेर सेवा लिन सकिन्छ।’
युवालाई सम्बोधन गर्दै उनले जीवनमा आउने कठिनाइसँग संघर्ष गर्न आग्रह गरे।
उनले भने, ‘हरेस खानु हुँदैन। जीवनमा दुःख सबैलाई हुन्छ। दुःखलाई आफ्नो बल बनाएर अगाडि बढ्नुपर्छ। हाम्रो संस्कारले पनि कहिल्यै हरेस नखान सिकाएको छ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्