सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती
रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने रौतहटको गौर नगरपालिका–६ सबगढा–बैरिया जोड्ने बाटो अहिले यात्रुहरूका लागि सजाय जस्तै बनेको छ।
लगातारको वर्षाका कारण यो व्यस्त सडक पूर्ण रूपमा क्षतिग्रस्त र हिलाम्मे भएपछि स्थानीय नागरिक, विद्यार्थी र सर्वसाधारणले हरेक दिन सास्ती खेप्नुपरेको छ ।
बाटोको दुरावस्था यतिसम्म नाजुक छ कि पैदल हिँड्न समेत खुट्टा टेक्ने ठाउँ छैन । सडकभरि जमेको हिलो र पानीले गर्दा दैनिक रूपमा सवारीसाधन सञ्चालन गर्न असम्भव जस्तै बनेको छ ।
गौरका स्थानीय शिक्षक सन्तोष पौडेलले भने, ‘विद्यार्थी र सर्वसाधारणले दैनिक सास्ती भोगिरहँदा पनि स्थानीय सरकार मुकदर्शक बनेर बसेको छ । यो सडक मर्मतमा कसैले चासो देखाएका छैनन्।’ उनले बर्षातको समयमा पनि सर्वसाधारण कम्तीमा हिँड्न सक्ने गरी तत्काल सडक मर्मत गर्न माग गरे।
वैकल्पिक सडकको कुनै व्यवस्था नहुँदा स्थानीय बासिन्दाहरू जोखिम मोलेरै यही हिलोबाट आवतजावत गर्न बाध्य छन्। ‘हाम्रो त हरेक दिन गौर बजार आउजाउ गर्नैपर्छ, तर यो सडक देख्दा घरबाट निस्किनै डर लाग्छ,’अर्का एक स्थानीयले आफ्नो पीडा पोखे, ‘जनताको यो सास्ती देख्ने र सुनिदिने कोही भएन।’
दैनिक ज्याला मजदुरी गर्ने, बिरामी बोक्ने एम्बुलेन्स र विद्यालय जाने साना बालबालिकाहरू यो जीर्ण सडकको सबैभन्दा ठूलो मारमा परेका छन्। यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । यो सडकको तत्काल मर्मत तथा सुधार गर्न ढिला भइसकेको छ।












Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्