रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा
रौतहट । प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले ठूलो बज्रपात प्रहार गरेको छ। विगत केही दिनदेखि परेको अविरल र मुसलधारे वर्षाका कारण जिल्लाभरिका धान खेतहरू हेर्दाहेर्दै विशाल जलाशयमा परिणत भएका छन्। नदी, पोखरी र स्थानीय जलाशय आसपासका उर्वर भूमिहरू मात्र होइन, जिल्लाका १८ वटै स्थानीय तहमा भर्खरै रोपिएका हरिया धानका गाँजहरू अहिले धमिलो पानीमुनि पुरिएका छन्। महिनौँको कडा श्रम, पसिना र ऋण गरेर किनेको मल–बीउको लगानी आँखाकै अगाडि पानीमा बगेर जाँदा जिल्लाका किसानहरू अहिले पीडामा छन्।
धान खेतमा पानीको उचित निकास नहुँदा बाढीको पानी महिनौँको मेहनतमाथि जमेर बसेको छ। खेतहरू ताल जस्तै बनेपछि भर्खरै जरा हाल्दै गरेका धानका बिरुवाहरू पानीभित्रै कुहिन थालेका छन्।
आफ्नो ५ बिघाभन्दा बढी क्षेत्रमा लगाइएको धान खेती पूर्ण रूपमा डुबेको हेर्दै वृन्दावन नगरपालिकाका पीडित किसान कृष्ण देव पटेल भक्कानिन्छन्। आँखाभरि आँसु पार्दै उनले आफ्नो सास्ती पोखे, ‘दिनरात नभनी, घामपानी नभनी हिलोमा पसिना बगाएर धान रोपियो। पानीले सबै सखाप पारिदियो। अब परिवार कसरी पाल्ने।’
वृन्दावन नगरपालिकाका अधिकांश क्षेत्रमा यो समस्या विकराल बनेको छ। किसानहरूको यो चित्कार सुनेपछि नगर प्रमुख विनोद कुर्मी आफैँ डोजर लिएर पानीको निकास खोल्न खेतबारीमा खटिएका छन। किसानको यो गम्भीर मर्काप्रति संवेदनशील बन्दै नगर प्रमुख कुर्मीले भने, ‘किसान दाजुभाइको यो पीडा मेरो आफ्नै पीडा हो। खेतबाट पानी निकाल्ने हरसम्भव प्रयास गरिरहेका छौँ। यो बेलामा किसानलाई राहत र क्षतिपूर्ति दिने विषयमा कार्यपालिकाको बैठकमा विशेष छलफल गरी ठोस निर्णय लिनेछौँ।’
यता कृषि ज्ञान केन्द्र, गौरका अनुसार भारी वर्षा र डुबानका कारण जिल्लाका अधिकांश धान खेतहरू कामै नलाग्ने गरी नष्ट भइसकेका छन्। हरियाली छाउनुपर्ने खेतहरू अहिले बगर र हिलोको थुप्रोमा बदलिएका छन्। ज्ञान केन्द्रले जिल्लाका प्रायः सबै पालिकामा धान खेत डुवानको साझा समस्या रहेको र हाल कुन पालिकामा कति क्षति भयो भन्नेबारे विस्तृत तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार किसानहरूको करोडौँको लगानी डुबेको छ, जसले गर्दा यस वर्ष जिल्लामा धान उत्पादनमा निकै ठूलो गिरावट आउने र खाद्य सङ्कट निम्तिने खतरा बढेको छ।
वर्षभरि खाने अन्न र परिवारको जीविकोपार्जनको एकमात्र स्रोत मानिएको धान खेती यसरी नष्ट भएपछि किसान परिवारको मर्कामा परेको छ। सरकार र सरोकारवाला निकायले तत्कालै राहत, बिमा र आगामी दिनका लागि विकल्प नल्याए किसानहरू धान खेतीबाट पनि बिस्थापित हुने अवस्था आउने निश्चित छ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्