Skip to content

लोकसेवा तयारी गरिरहेका विद्यार्थीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नुपर्छ : रवि किरण हमाल

nmb bank inside

काठमाडौं । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका विभिन्न समस्या समाधानका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।

लोकसेवा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले लोकसेवाको तयारी गर्ने विद्यार्थीहरू सामान्यतया आन्दोलनमा सहभागी नहुने र आफ्नो अध्ययनमा केन्द्रित भएर भविष्यमा राज्यको सेवा गर्ने लक्ष्य राख्ने गरेको बताए ।

‘शान्त हुने, आन्दोलन नगर्ने र आन्दोलन नरुचाउने भनेकै लोकसेवाका विद्यार्थी हुन् । उनीहरू भोलि राज्यका विभिन्न ओहदामा बसेर सेवा गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरू आन्दोलनमा सहभागी नभई अध्ययनमै ध्यान केन्द्रित गरेर राष्ट्रको सेवा गर्छु भन्ने सोच राख्छन्,’ उनले भने ।

तर पछिल्लो समय यस्ता विद्यार्थीसमेत आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको हमालको भनाइ छ । राज्यले युवालाई रोजगारीको अवसर उपलब्ध गराउने विषयलाई संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले रोजगारीका अवसरका लागि युवाले आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

‘रोजगारी पाउनु मौलिक अधिकार हो । यो मागेर पाउनुपर्ने विषय होइन, राज्यका तर्फबाट सुनिश्चित गरिनुपर्ने कुरा हो । एउटा विद्यार्थी लोकसेवा पढेर देशको सेवा गर्छु, जागिर खान्छु र परिवार पाल्छु भनेर भन्न नपाउने?’ उनले प्रश्न गर्दै भने ।

लोकसेवा तयारी गरिरहेका विद्यार्थीको अध्ययन र रोजगारीको अवसरमा अवरोध पुर्याउने अधिकार कसैलाई नभएको उनले बताए । ‘यो रोक्ने अधिकार कसलाई छ ? को हुन् बालेन शाह ? को हो प्रधानमन्त्री ? को हो युवाहरूलाई रोक्ने?’ उनले प्रश्न गरे ।

यसअघि युवाहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले रोक्ने प्रयास गर्दा त्यसको परिणाम देखिएको पनि हमालले उल्लेख गरे ।

उनका अनुसार नेपालमा वार्षिक करिब चारदेखि पाँच लाख युवा लोकसेवा आयोगको तयारी गरिरहेका छन् । ठूलो संख्यामा रहेका लोकसेवा तयारीकर्ताका समस्या र उनीहरूको भविष्यसँग जोडिएका विषयमा राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनले बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्