काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीनदिने सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सोमबार उद्घाटन गरेकी हुन् ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको उनको भनाइ थियो ।
‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यसमा मातृभाषा पत्रकारको भूमिका महत्वपूर्ण छ। मातृभाषा पत्रकारिताको महत्व बुझेर तपाईंहरूले यसलाई अभियानका रूपमा अघि बढाइरहनुभएको छ,’ उनले भनिन् ।
मन्त्री गौतमले नेपालको पहिचान इतिहासका दस्तावेजमा मात्र सीमित नरहेको उल्लेख गर्दै संस्कार, संस्कृति, चाडपर्व, भाषा तथा लवजशैलीमा समेत नेपालको विविधता प्रतिबिम्बित हुने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद निष्कल राईले मातृभाषा, पहिचान तथा भाषिक अधिकारका विषयमा राज्य अझ संवेदनशील हुनुपर्ने बताए । मातृभाषा र पहिचान व्यक्तिको मात्र नभई समग्र राष्ट्रसँग जोडिएको विषय भएको उनको भनाइ थियो ।
‘हामी जन्मिँदै कुनै निश्चित भाषा अङ्गीकार गर्छु भनेर सोचेर जन्मेका हुँदैनौँ। प्रकृतिले हामीलाई त्यहीँ जन्माएको हुन्छ, जहाँ पहिचान, विविधता र संस्कारसँगै जोडिएका हुन्छौँ,’ उनले भने ।
राईले मानिस जन्मिँदै कुनै निश्चित भाषा वा पहिचान रोजेर नआउने उल्लेख गर्दै प्रकृति, पहिचान, विविधता र संस्कारसँगै भाषा र पहिचान जोडिएर आउने बताए । पछिल्लो समय राज्य मातृभाषा तथा आदिवासी जनजातिका सवालमा अपेक्षाकृत संवेदनशील हुन नसकेको उनको आरोप थियो ।
‘आदिवासी जनजातिका सन्दर्भमा बजेट भाषणबाटै स्पष्ट हुन्छ । थारू आयोग वा दलित आयोगमा छुट्याइएको बजेटबाट पनि राज्य त्यति संवेदनशील छैन भन्ने प्रष्ट हुन्छ,’ उनले भने ।
‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ सुरु भएको सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिसहित स्वदेशका करिब ३०० तथा भारत, बङ्गलादेशलगायत विभिन्न मुलुकका ३५ पत्रकार सहभागी थिए ।
सम्मेलनका क्रममा ‘आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान र वनसँगको सम्बन्ध’, ‘सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिता र निजी मिडियाको अवस्था’ तथा ‘मातृभाषा पत्रकारिता, जलवायु परिवर्तन, वन व्यवस्थापन, राज्यका नीति, अभ्यास र आदिवासी समुदाय’ लगायतका विषयमा विषयविज्ञ तथा पत्रकारबीच छलफल हुने आयोजकले जनाएको छ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्