दाइजो प्रथाविरुद्ध मधेशबाट राष्ट्रिय अभियान सुरु गरिने
काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।
छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा सहकार्यका विषयमा विचारविमर्श भएको थियो। मधेशबाट अभियानको सुरुआत गरी क्रमशः देशभर विस्तार गर्ने तथा अभियानलाई समुदायस्तरसम्म पु¥याउने विषयमा समेत छलफल गरिएको थियो।
दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिएको गम्भीर सामाजिक कुरीति भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको थियो।
मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माणलाई सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन् । परिवार र समुदायबाटै दाइजोविरुद्धको चेतना विस्तार गर्दै युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलगायत सबै पक्षलाई अभियानमा जोड्नुपर्ने उनले बताइन् ।
मन्त्री बादीले यसअघि प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीसँग पनि दाइजो प्रथा अन्त्य तथा ‘दाइजोमुक्त नेपाल’ अभियानका विषयमा छलफल भएको जानकारी गराउँदै आगामी दिनमा यस विषयमा अन्य सरोकारवालासँग समेत छलफल तथा परामर्श गरी प्राप्त राय सुझावका आधारमा अभियानलाई अघि बढाइने बताइन् ।
भेटवार्ताका क्रममा मधेसी आयोगले मधेशमा महिला तथा बालबालिकाले सामना गरिरहेका बालविवाह, घरेलु तथा लैङ्गिक हिंसा, शिक्षा तथा स्वास्थ्यमा पहुँचको कमी, बोक्सीको आरोपमा हुने हिंसा, बालश्रम तथा बालशोषण, मानव बेचबिखन तथा ओसारपसार, नागरिकता तथा पहिचानसम्बन्धी समस्या र महिलाको निर्णय प्रक्रियामा न्यून सहभागिता लगायतका विषयमा समेत आफ्ना राय सुझाव प्रस्तुत गरेको थियो।
दाइजो प्रथा अन्त्यका लागि ‘दाइजो नलिने, नदिने’ संस्कारको विकास, समुदायस्तरमा निरन्तर जनचेतना विस्तार, युवाको नेतृत्व र सहभागिता वृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।
मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्