Skip to content

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, सन्दीपमाथि विश्वास

nmb bank inside

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, सन्दीपमाथि विश्वास

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।

बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले टोली एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जाने बताए । उनले पछिल्लो समयका खेलमा भएका कमजोरी पहिचान गरी सुधार गर्न भारतमा हुने १० दिने तयारी महत्वपूर्ण हुने बताए ।

‘हामी मोटिभेसनका साथ मलेसिया जानेछौँ। तर त्योभन्दा अगाडि आफ्नो जर्नीलाई रिफ्लेक्ट गर्नका लागि राम्रो समय थियो। नेदरल्यान्ड्सबाट फर्किएपछि हामी कहाँ–कहाँ चुक्यौँ, कहाँ–कहाँ गल्तीहरू भए, त्यसलाई पहिचान गर्दै त्यसमा काम गर्न बैङ्गलोरमा क्याम्प आयोजना गरिएको छ,’ उनले भने।

उनले भारतमा हुने प्रशिक्षणबाट मलेसियाको जस्तै कन्डिसनमा अभ्यास गर्ने अवसर मिल्ने बताए । ‘पक्कै पनि यो १० दिनका लागि हामी त्यहाँ जानेछौँ र मलेसियाको जस्तै कन्डिसन हुनेछ । जहाँ हामी आफ्ना गल्तीहरू सुधार गर्दै आगामी टुर्नामेन्ट एसीसी प्रिमियर कप जित्ने टार्गेट हो। ट्रफी घर ल्याउने भरपुर कोसिस गर्नेछौँ,’ उनले भने।

यस्तै क्यानका सचिव तथा पूर्वराष्ट्रिय क्रिकेटर पारस खड्काले राष्ट्रिय टोलीको नयाँ स्क्वाड र कप्तानी परिवर्तनलाई लिएर विभिन्न प्रश्न उठेको भए पनि क्रिकेट टिम खेल भएकाले सबै खेलाडीको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

उनले सन्दीप लामिछानेलाई नेपाली पुरुष एकदिवसीय टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको जानकारी दिँदै टोलीका खेलाडीहरूले पछिल्लो समय राम्रो क्रिकेट खेल्दै आएको बताए ।

‘नेपाल क्रिकेट टिमको भर्खरै अनाउन्स भएको स्क्वाडको विषयमा यहाँहरूबीच धेरै प्रश्नहरू होलान् । क्रिकेट संघको तर्फबाट सबैभन्दा पहिले सन्दीप लामिछानेलाई इन्ट्रोड्युस वा रि–इन्ट्रोड्युस गर्दैछौँ, जसले हाम्रो मेन्स ओडीआई फम्र्याटलाई लिड गर्न गइरहनुभएको छ,’ खड्काले भने । 

खड्काले नेपालले एसीसी प्रिमियर कप जित्नुपर्ने र त्यसका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । उनले पछिल्ला पाँच–छ वर्षमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक उपलब्धि हासिल गरे पनि कतिपय खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बताए । 

उनले नेपाली क्रिकेटलाई अझ बलियो बनाउन खेलाडीलाई प्रोत्साहन र सहयोग गर्न क्यान प्रतिबद्ध रहेको बताए । राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार, प्रायोजक तथा अन्य सरोकारवालाको सहयोगबाट नेपाली क्रिकेट यो अवस्थासम्म आइपुगेको उनको भनाइ थियो । 

खड्काले एसीसी प्रिमियर कपमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दै उपाधि जितेर एसिया कपका लागि छनोट हुने विश्वास व्यक्त गरे । 

यसअघि क्यानले लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको थियो । सङ्घले नेपाली पुरुष एकदिवसीय टोलीको कप्तानका रूपमा लेग स्पिनर लामिछानेलाई चयन गरेको हो । 

घोषित १४ सदस्यीय टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्