काठमाडौं । अविरल वर्षापछि रोल्पाका विभिन्न स्थानमा गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार घटनामा दुई जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्।
साउन २७ र २८ गते राति रोल्पाको थवाङ गाउँपालिका–५ कोटलवारा तथा सुनछहरी गाउँपालिका–२ फलबान र गिच्छेमा पहिरो गएको हो।
पहिरोमा स्थानीयका केही निजी घर, गोठ तथा घुम्ती पसलमा समेत क्षति पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ रोल्पाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार सुरु गरिएको थियो। बेपत्ता तथा प्रभावितको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
घाइते दुई जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रभावित परिवारलाई ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम राहत तथा आर्थिक सहायता उपलब्ध गराइने कार्यालयले जनाएको छ। मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ताका परिवारलाई निर्धारित राहत तथा क्षतिग्रस्त घरका परिवारलाई तत्काल राहत, अस्थायी आवास र निजी आवास पुनर्निर्माणसम्बन्धी सहायता उपलब्ध गराइनेछ।
मनसुनजन्य विपद्को जोखिम अझै कायम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा सम्बन्धित निकायलाई पूर्वतयारी र प्रतिकार्य थप प्रभावकारी बनाउन सरकारले आग्रह गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्