Skip to content

राइडरले उचित आम्दानी पाउनुपर्छ भन्ने विषयमा पठाओ नेपाल सहमत

nmb bank inside

काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओ नेपालले प्रतिकिलोमिटर २५ रुपैयाँको फ्ल्याट भाडादरप्रति आफूहरूको असहमति नरहेको स्पष्ट पार्दै राइडरहरूले उठाएको माग र कम्पनीको वर्तमान भाडा प्रणालीबीच ठूलो अन्तर नभएको जनाएको छ। कम्पनीका अनुसार वास्तविक भिन्नता भाडा निर्धारण गर्ने संरचना र विधिमा केन्द्रित छ।

बिहीबार कम्पनीका प्रबन्ध निर्देशक यशु थकालीले हस्ताक्षर गरेको विज्ञप्तिमा राइडरहरूले उचित आम्दानी पाउनुपर्ने विषयमा आफूहरू पूर्ण सहमत रहेको उल्लेख गरिएको छ। साथै, राइडरहरूको हितलाई ध्यानमा राख्दै भाडा प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा जोड दिइएको छ।

पठाओका अनुसार कम्पनीको विद्यमान भाडा संरचना वैज्ञानिक आधारमा तयार गरिएको हो। उक्त संरचना २०६५ सालमा नेपाल इन्जिनियरिङ अध्ययन संस्थानले यातायात व्यवस्था विभागका लागि तयार पारेको प्रतिवेदनको ढाँचामा आधारित रहेको बताइएको छ। यस प्रणाली अन्तर्गत बेस फेयर, प्रति किलोमिटर भाडा र प्रति मिनेट भाडा निर्धारण गरिन्छ, जसमा इन्धनको मूल्य, सवारी साधनको ह्रास, मर्मत खर्चलगायतका लागतहरू समेटिएका छन्।

हाल राइडरहरूले काठमाडौं उपत्यकामा सञ्चालन हुने मोटरसाइकल राइड सेयरिङ सेवाका लागि न्यूनतम प्रतिकिलोमिटर २५ रुपैयाँको फ्ल्याट दर कायम गर्नुपर्ने माग राख्दै आएका छन्। यस सन्दर्भमा पठाओले सरकार, राइडर प्रतिनिधि, डिजिटल प्लेटफर्म तथा अन्य सरोकारवालाबीच सहमति भई साझा भाडा संरचना वा न्यूनतम दर निर्धारण भएमा आफूहरू आवश्यक परे वर्तमान भाडा प्रणाली परिमार्जन गर्न तयार रहेको जनाएको छ।

कम्पनीले सबै प्लेटफर्ममा समान रूपमा लागू हुने स्पष्ट नीति बनेमा त्यसलाई कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको पनि जनाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्