काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताएकी छन् ।
लिच्छविकालीन भगवान् श्री नित्यनाथ मन्दिरको समउद्घाटन तथा बाजा प्रशिक्षण समापन कार्यक्रममा बोल्दै डंगोलले सम्पदा संरक्षणका लागि भौतिक संरचनाको पुनर्निर्माणसँगै परम्परागत कला, संस्कृति र बाजागाजाको पुस्तान्तरण आवश्यक रहेको बताइन् ।
उनले नित्यनाथ मन्दिर परिसरमा पुनर्निर्माण गरिएको ‘नासा द्यः छें’ ले परम्परागत बाजागाजा सिक्ने र सिकाउने वातावरण थप सहज बनाउने बताइन् । ‘आज अर्को एउटा संख्या मात्र बढेको छैन, त्यसको साथसाथै अर्को एउटा मूर्त सम्पदा जीवित भएको छ,’उनले भनिन् ।
डंगोलले काठमाडौंमा परम्परागत रूपमा बाजागाजा बजाउने तथा सिक्ने स्थानलाई कतिपयले ‘आखा छें’ र कतिपयले ‘नासा द्यः छें’ भन्ने गरेको उल्लेख गर्दै यसको पुनर्निर्माणले नयाँ पुस्तालाई बाजा सिक्ने अवसर प्रदान गर्ने बताइन् । यसले सम्पदा संरक्षण तथा पुस्तान्तरणको जग थप बलियो बनाउने उनको भनाइ थियो ।
काठमाडौं महानगरपालिकाले हालसम्म ७७ वटा मूर्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको र अमूर्त सम्पदा संरक्षणतर्फ ८२ वटा विभिन्न कार्यक्रम सम्पन्न गरेको डंगोलले जानकारी दिइन् । उनका अनुसार महानगरपालिकाले हालसम्म मूर्त तथा अमूर्त सम्पदा संरक्षण र पुनर्निर्माणका गरी करिब १५९ देखि १६० वटा काम सम्पन्न गरिसकेको छ ।
उनले भनिन्,‘काठमाडौं महानगरपालिकाले हाम्रो विवरण नै दिनुपर्दाखेरि मूर्त र अमूर्त सम्पदामा विभिन्न कामहरु गरिरहेको छ । ७७ वटा मूर्त सम्पदाहरुको पुनर्निर्माणको काम पूरा भैइसकेको छ भने अमूर्त सम्पदा संरक्षणमा ८२ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं । टोटलमा भन्ने हो भने १५९,१६० वटा त हामीले विभिन्न मूर्त अर्मूत सम्पदा संरक्षण गर्न पुनर्निर्माण गर्ने काम गरिसकेका छौं । यद्यपी, यो वर्ष भने अझै थप काम हामी गर्ने योजना बनाएका छौं।’
चालु वर्षमा पनि थप सम्पदा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताइन् । यस वर्ष महानगरपालिकाले ‘बाहा पूजा’ मौलिक रूपमा सञ्चालन गर्नुका साथै ‘सम्यक महादान’ आयोजना गर्ने गरी बजेट तथा कार्यक्रममा समावेश गरेको र त्यसको कार्यान्वयनका लागि काम अघि बढिसकेको उनले जानकारी दिइन् ।
डंगोलले पुनर्निर्माण सम्पन्न भएका सम्पदाको संरक्षण, प्रवद्र्धन र सदुपयोग गर्ने जिम्मेवारी अब स्थानीय समुदायको काँधमा आएको बताइन् ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्