काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले तिब्बतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै कोइरालाले रसुवाबाट प्रवेश गरेको बाढी तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहेकाले नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत आसपासका जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे ।
उनले भनेका छन्, ‘अकल्पनीय त्रासदीपूर्ण विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार गर्न, घाइतेको उचित उपचारको व्यवस्था मिलाउन र विपद् प्रभावित नागरिकका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले नागरिकको जीवनरक्षाका लागि राज्यका सबै साधन, स्रोत र संयन्त्र परिचालन गर्न आग्रह गरेका छन् ।
कोइरालाले विपद्को घडीमा संयमता र धैर्यताका साथ आपसी सहयोगमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गर्दै प्रभावित नागरिकको खोज तथा उद्धारमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र सामाजिक अभियन्तालाई अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘विपद् प्रभावित नागरिकहरूको खोज उद्धारमा स्वयंसेवक कार्यका लागि क्रियाशील रहन हाम्रो पार्टीका सबै तहका पदाधिकारी सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध जिम्मेवार साथीहरू एवं सामाजिक अभियन्ताहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक हार्दिक अपिल गर्दछ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्