Skip to content

भोटेकोशी बाढीलाई राष्ट्रिय विपद्का रूपमा लिएर उद्धार र राहतमा जुट्न सांसद बुर्लाकोटीको आग्रह

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले चीनबाट रसुवा हुँदै आएको भोटेकोशी नदीमा आएको भीषण बाढीलाई राष्ट्रिय विपत्तिका रूपमा लिएर तत्काल उद्धार, राहत तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुर्लाकोटीले बिहान करिब ९ः१५ बजे आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको र क्षतिको यकिन विवरण अझै प्राप्त भइनसकेको बताए । बाढीको प्रभाव कहाँसम्म पुग्ने र थप कति क्षति हुने भन्ने विषयमा अझै अन्योल रहेको उनको भनाइ छ ।

उनले हजारौँ नागरिक बेपत्ता भएको सूचना प्राप्त भएको उल्लेख गर्दै ठूलो संख्यामा मानिस प्रभावित भएको बताए । गोसाइँकुण्ड यात्रामा रहेका गोरखाका यात्रु सवार दुई माइक्रोबस र एक बसमध्ये ३६ जना रहेको एउटा बस बाढीमा परेको सूचना प्राप्त भएको पनि उनले बताए । त्यसमा केही यात्रुको ज्यान गएको हुनसक्ने जानकारी आएको भन्दै उनले दुःख व्यक्त गरे ।

त्यस्तै, दोलखा तथा अन्य जिल्लाबाट रोजगारीका लागि रसुवा पुगेका थुप्रै नागरिकसमेत बाढीमा परेको सूचना प्राप्त भएको उनले बताए ।

बुर्लाकोटीका अनुसार बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमसम्म प्रभाव पारेको छ । जलविद्युत् आयोजना तथा केन्द्र, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार र पुलपुलेसामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आउन थालेको उनले बताए 

उनले पछिल्लो क्षति कल्पनाभन्दा बाहिरको रहेको उल्लेख गर्दै विपद्बाट प्रभावित परिवारलाई राज्य र संसद्को साथ रहेको सन्देश दिनुपर्ने बताए ।

सांसद बुर्लाकोटीले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित तथा घाइतेको तत्काल उद्धार गरी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको र केही स्थानमा उद्धारसमेत भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै उनले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।

विपद्को सामना गर्न सरकार, राजनीतिक दल, सरकारी निकाय, संघसंस्था, पूर्वसैनिक तथा पूर्वप्रहरीसहित सबै पक्ष एकजुट भएर राहत र उद्धारमा परिचालन हुनुपर्ने उनको भनाइ छ । आवश्यक परे मित्रराष्ट्रको सहयोगसमेत लिएर दीर्घकालीन विपद् व्यवस्थापन रणनीति बनाउनुपर्ने उनले बताए ।

बुर्लाकोटीले राष्ट्रिय विपद् कोष परिचालन गर्न र आवश्यकता तथा औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्नसमेत सरकारसँग आग्रह गरे । विपद्को समयमा सबै पक्ष संयमित हुँदै आवश्यकता अनुसार परिचालित हुनुपर्नेमा उनले जोड दिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्