काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको उद्धारमा कठिनाइ भएको छ भने कतिपय स्थानमा हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ ।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी रहेको बताइएको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना तथा परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ ।
उक्त आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना तथा विद्युतगृह क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको बताइएको छ । आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको खबर आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन् । तिमुरेमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ । उनीहरूसँग समेत सञ्चार सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ ।
त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकोप्टर व्यवस्थापन गरी स्थलगत अवलोकन गर्ने प्रयास भइरहेको छ ।
१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन भएका छन् । अन्य पाँच जना नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली रहेको तथा उद्धारको पर्खाइमा रहेको बताइएको छ । उनीहरूको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।
यसैगरी, २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा बुधबार सुरुङमा थुनिएपछि सम्पर्कविहीन भएका ६० जनासँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन । सम्पर्कविहीन हुनेमा २५ जना स्टाफ र ३५ जना कामदार छन् । उनीहरूको अवस्था अझै अज्ञात रहेको छ ।
लाङटाङ खोला आयोजनास्थलमा विकासकर्ता कम्पनीका प्रतिनिधिहरू पुगेर उद्धारको प्रयास अघि बढाए पनि हालसम्म हेलिकोप्टरको व्यवस्था हुन नसकेको बताइएको छ ।
बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा प्रभावित आयोजनामा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्