मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो ?
आकांक्षा धामी, नेपाल न्यूज बैंक
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना, आशा र आफ्ना मान्छे पनि बगाएर लग्यो । आँखैअगाडि आएको यो विपत्तिले फेरि एकपटक हामीलाई स्तब्ध बनाएको छ ।
सम्भवतः २०७२ सालको महाभूकम्पपछि यति ठूलो जनधनको क्षतिको पीडा नेपाली समाजले फेरि एकपटक महसुस गर्नुपरेको छ । विपत्तिको यो घडीमा शब्दहरू कमजोर लाग्छन्, आँसु पनि कम लाग्छन् । तर एउटा प्रश्न भने मनभित्र गहिरोसँग उठ्छ हामी बाँचेका मानिसको जिम्मेवारी के हो ?
बाढीले बगाएर ल्याएका शव देख्दा जिउ नै सिरिङ्ग हुने अवस्था छ । तर त्यही त्रासदीको बीचमा कसैको शरीरमा भएको गहना निकाल्ने, बाढीले बगाएर ल्याएका ग्यासका सिलिण्डरलगायत सामान आफ्नो घरमा थुपार्ने मानिसका दृश्य पनि सामाजिक सञ्जालमा देखिए । ती दृश्यले बाढीको पीडाभन्दा ठूलो अर्को पीडा जन्माइदियो । के विपत्तिको भेलसँगै हाम्रो मानवता पनि बग्न थालेको हो ?
बाढीले शव र ग्यासका सिलिण्डर सँगसँगै बगाएर ल्यायो । तर विडम्बना यस्तो देखियो ग्यासका सिलिण्डर तान्न हातहरू अघि बढे, तर बाढीले बगाएर ल्याएको मान्छेको शवलाई बग्न दिइयो, उद्धार गरिएन् ।
तर, सिंगो समाजलाई एउटै तराजुमा राखेर दोष दिनु पनि उचित हुँदैन । विपत्तिमा आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिनेहरू पनि छन् । अपरिचितको आँसु पुछ्न आफ्नो गाँस काट्नेहरू पनि छन् । रातदिन नभनी राहत बोकेर पुग्नेहरू पनि छन् । त्यसैले प्रश्न मानवता हरायो कि हराएन भन्ने मात्र होइन, हाम्रो वरिपरि मानवता बाँचेको छ भने त्यसलाई अझ बलियो बनाउने जिम्मेवारी कसको हो ?
सरकारले उद्धार, राहत र पुनःस्थापनाको नेतृत्व गर्नुपर्छ । तर विपद् केवल सरकारको परीक्षा होइन, समाजको पनि परीक्षा हो । उद्धारका लागि राज्यका संयन्त्र पुग्न समय लाग्न सक्छ । त्यतिबेलासम्म छिमेकीको हात, स्थानीय युवाको साहस, स्वयंसेवकको सक्रियता र आम नागरिकको संवेदना नै कसैका लागि जीवनको सहारा बन्न सक्छ ।
तर हामीमध्ये धेरैको ध्यान भने कहिलेकाहीँ उद्धारभन्दा मोबाइलको क्यामेरातिर जान्छ । कसैको दुःखलाई दृश्य बनाउने, घटनास्थलको भयावहता खिच्ने, अपुष्ट सूचना फैलाउने र भ्यूज तथा भाइरल हुने दौडमा लाग्ने प्रवृत्तिले पीडितको पीडामाथि अर्को पीडा थप्न सक्छ ।
याद गरौँ विपत्तिमा एउटा गलत सूचना पनि कसैको परिवारका लागि ठूलो मानसिक आघात बन्न सक्छ । बाढीमा आफन्त हराएको खबर सुनेर छटपटाइरहेको परिवारले सामाजिक सञ्जालमा फैलिएको अपुष्ट मृत्युको खबर देख्दा उसको पीडा कति गहिरो हुन्छ होला ? त्यसैले विपद्को बेला हरेक शब्द जिम्मेवार हुनुपर्छ, हरेक सूचना सत्यापित हुनुपर्छ र हरेक दृश्य सार्वजनिक गर्नुअघि मानवीय संवेदनालाई सम्झनुपर्छ ।
विपत्तिमा रमिता हेर्ने समय होइन, भ्यूज कमाउने समय होइन । अरूको दुःखलाई सामग्री बनाउने समय होइन । यो त मानिस भएर मानिसको साथमा उभिने समय हो ।
हामी भाग्यमानी छौँ, हामी बाँचेका छौँ । हाम्रा आफन्त सुरक्षित छन् भने त्यो हाम्रो मात्र सौभाग्य होइन, एउटा ठूलो जिम्मेवारी पनि हो । आज सुरक्षित रहेको हाम्रो घर भोलि अरू कसैको आश्रय बन्न सक्छ । आज हाम्रो हातमा भएको एउटा कम्बल, एक बोरा चामल, एक बोतल पानी, एउटा औषधि वा केही घण्टाको श्रम कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ ।
त्यसैले आफूलाई एउटा प्रश्न गरौँ , ‘मैले यो विपत्तिमा के गर्न सक्छु ?’ सायद हामी सबै उद्धारकर्मी बन्न सक्दैनौँ । सबैले घटनास्थल पुग्न सक्दैनौँ । तर राहतमा सहयोग गर्न सक्छौँ । सही सूचना फैलाउन सक्छौँ । गलत सूचना रोक्न सक्छौँ । पीडितको सम्मान गर्न सक्छौँ । उद्धारमा खटिएकाहरूलाई सहयोग गर्न सक्छौँ र कम्तीमा पनि अरूको दुःखलाई तमासा नबनाउने निर्णय गर्न सक्छौँ ।
संकटले घर र सडक मात्र भत्काउँदैन, यसले समाजको चरित्र पनि देखाउँछ । विपत्तिले हामीभित्रको लोभ र संवेदनशीलता, स्वार्थ र सामूहिकता, मौनता र साहस सबैलाई उजागर गरिदिन्छ । आज भोटेकोशी, रसुवा, धादिङ, नुवाकोटलगायतका विपद् क्षेत्रका पीडितहरूलाई हाम्रो साथ चाहिएको छ । उनीहरूलाई केवल राहत सामग्री होइन, मान्छेहरू अझै मान्छे नै छन् भन्ने विश्वास चाहिएको छ ।
हामी जो संयोगले जीवित छौँ, जसका घरमा आज चुलो बलिरहेको छ, जसका प्रियजनहरू सुरक्षित छन् हाम्रो जिम्मेवारी अरूभन्दा अझ ठूलो छ । आउनुस्, विपत्तिको यो कठिन घडीमा नेपालीपनको अर्थ फेरि प्रमाणित गरौँ ।
दुःखमा रमिता होइन, साथ दिऔँ । भ्यूज होइन, जीवन रोजौँ । अफवाह होइन, सत्य बोलौँ । स्वार्थ होइन, मानवता रोजौँ । किनकि विपत्तिबाट को बाँच्छ भन्ने कुरा सधैँ हाम्रो हातमा हुँदैन । तर बाँचेकाहरूले बाँचेको जीवन कसरी प्रयोग गर्छन् त्यो भने हाम्रो हातमा अवश्य हुन्छ ।
विपत्ति आउँदा हामी कति सुरक्षित छौँ भन्ने मात्र होइन, हामी कति मानवीय छौँ भन्ने पनि परीक्षा हुन्छ । आज अरूको दुःखमा उभिने हाम्रो पालो हो, भोलि त्यही हात हाम्रो सहारा बन्न सक्छ । त्यसैले विपत्तिमा मानवता जोगाऔँ ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्