आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कमा छैनन् : भारत
काठमाडौं । बुधबार बिहान नेपालको रसुवा, नुवाकोट र धादिङलगायतका इोत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालय (एमईए)ले जनाएको छ ।
यसैबीच, मानसरोवर यात्रा गरिरहेका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन्।
एमईएका प्रवक्ता रणधीर जयसवालले बिहीबार सद्गुरुको ईशा फाउन्डेसनको ठूलो समूह पनि हिमाली राष्ट्र नेपालमा अझै सम्पर्कविहीन रहेको बताएका छन्।
उनले तमिलनाडुका २१ जनाको भने उद्धार गरिएको जानकारी दिए। उनका अनुसार केही भारतीय नागरिक अझै चीनतर्फको क्षेत्रमा अलपत्र परेका छन्।
जयसवालले विपद्पछि भारतको सहयोगस्वरूप राहत सामग्री बोकेका दुईवटा विमान नेपाल पठाइएको पनि बताए। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए।
सम्पर्कविहीन रहेका भारतीय नागरिकबारे विवरण दिँदै जयसवालले भने, ‘पहिलो समूहमा त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गरिरहेका ७३ जना छन्। उनीहरूबारे थप विवरण प्राप्त गर्न काठमाडौंस्थित हाम्रो दूतावास आयोजनाका प्रमुखसँग सम्पर्कमा छ। त्यसपछि सम्राट र फ्लाई एभरेस्ट ट्राभल्समार्फत कैलाश मानसरोवर यात्रामा गएका तमिलनाडुका क्रमशः ३७ र ४९ जनाका दुई छुट्टाछुट्टै समूह छन्।
रसुवा जिल्लाको टिमुरेमा सम्राट ट्राभल्सको सहयोगमा यात्रा गरेका पश्चिम बंगालका ३२ जना भारतीय नागरिकको समूह छ। त्यसपछि विभिन्न राज्यका ६१ जना भारतीय नागरिकको एउटा समूह र केरलाका ३३ जना भारतीय नागरिकको अर्को समूह छन्। यी पाँच समूहमा करिब २८८ जना छन् ।’
एमईएले नेपालमा अलपत्र परेकासँग भारतीय कूटनीतिक अधिकारीहरू सम्पर्कमा रहेको जनाएको छ। प्रभावित भारतीय नागरिकको खोजी र उद्धारका प्रयास जारी छन्।
विनाशकारी बाढीपछिको आपत्कालीन सहयोग समन्वय गर्न भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित मुख्यालयमा विशेष नियन्त्रण कक्ष स्थापना गरेको छ।
नेपालस्थित भारतीय कूटनीतिक नियोगहरूले पनि विशेष हटलाइन सञ्चालनमा ल्याएका छन् र सम्बन्धित राज्य प्रशासनसँग नजिकबाट समन्वय गरिरहेका छन्।
नेपालका अधिकारीहरूका अनुसार ठूलो आकस्मिक बाढीमा मृत्यु हुनेको संख्या बढेर २५८ पुगेको छ भने २८८ भारतीय नागरिकसहित ९१० जना अझै बेपत्ता छन्। यो पछिल्ला वर्षहरूमा नेपालले भोगेको सबैभन्दा भीषण विपद्मध्ये एक हो।
प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई सहयोग गर्न काठमाडौंस्थित भारतीय दूतावासले तत्काल सहायता तथा जानकारीका लागि ं९७७ ९८५ १३१ ६८०७ र ं९७७ ९७० ९१० ७५०० नम्बर सार्वजनिक गरेको छ।
दूतावासले उद्धार कार्यलाई तीव्र बनाउन नेपालका सम्बन्धित निकायसँग सक्रिय रूपमा सहकार्य गरिरहेको र अलपत्र परेका आफ्ना नागरिकलाई समयमै राहत उपलब्ध गराउन प्रयास जारी रहेको जनाएको छ। नेपाल सरकारसँगको समन्वयमा उद्धार तथा राहतका प्रयासलाई निरन्तर सुदृढ बनाइएको पनि बताइएको छ।
यसका अतिरिक्त, नेपाल पर्यटन बोर्डले प्रभावितलाई सहयोग गर्न विशेष हेल्पलाइन नम्बर सञ्चालनमा ल्याएको छ। टोल–फ्री नम्बर १२३४, सामान्य हटलाइन ११४४ र पर्यटक प्रहरीको सम्पर्क नम्बर ९८५१२८९४४५ उपलब्ध गराइएको छ।
सीमापारि अलपत्र परेकाहरूका लागि बेइजिङस्थित भारतीय दूतावासले ००८६ १८५ १४२८ ४९०५ नम्बरको अतिरिक्त हटलाइन उपलब्ध गराएको छ, जुन ह्वाट्सएपमार्फत पनि तत्काल सम्पर्कका लागि प्रयोग गर्न सकिन्छ।
यसैबीच, भोटेकोशी नदीमा आएको शक्तिशाली आकस्मिक बाढीको भीषण प्रकोपपछि नेपाल अझै त्यसको असरबाट जुधिरहेको छ।
बाढीका कारण ठूलो जनधनको क्षति, व्यापक विस्थापन तथा घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ। (एएनआई)
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्