Skip to content

काठमाडौं उपत्यकामा विद्युत आपूर्तिमा के कारण देखियो समस्या ?

nmb bank inside

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ । 

निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए । त्यस समयमा विद्युत् प्रणाली ढल्केबर–खुर्कोट–खिम्ती–भक्तपुर–स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो ।

यसै क्रममा बिहान ८ः५२ बजे खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भएको थियो । त्यसपछि बिहान ९ः१८ बजे सोही प्रसारण लाइनको सर्किट–२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्कविच्छेद हुँदा काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो। भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको हो ।

वैकल्पिक व्यवस्थामार्फत बिहान ९ः४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनःसुचारु गरिएको प्राधिकरणले जनाएको छ ।

हाल सम्बन्धित प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा आवश्यक मर्मतसम्भारको काम गरिरहेको छ । प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्