Skip to content

तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

nmb bank inside

काठमाडौँ । पछिल्ला तीन दिनमा ८७ हजारभन्दा बढी एलपी ग्यास सिलिण्डर काठमाडौँ उपत्यका भित्र्याइएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा सडक भासिएपछि अवरुद्ध आपूर्ति व्यवस्थालाई सहज बनाउन वैकल्पिक मार्ग प्रयोग गर्दै उक्त ग्यासहरू उपत्यकामा भित्र्याइएको हो।

नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा ग्यास उद्योगले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लास्थित उद्योगबाट पुनः भराइ (रिफिलिङ) गरी ८७ हजार ८७७ सिलिण्डर उपत्यका ल्याएका हुन्।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिण्डर काठमाडौँ भित्रिएका छन्।

त्रिशूली नदीको कटानका कारण भदौ १४ गते कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बीचमै रोकिएका थिए। मुख्य राजमार्ग बन्द भएपछि निगमले वैकल्पिक मार्गमार्फत आपूर्ति निरन्तरता दिन थालेको हो।

निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा इन्धन र एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी व्यवस्था मिलाइएको जनाएको छ। साथै, ग्यास आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत रिफिलिङ र ढुवानी कार्य नियमित गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको निगमले जानकारी दिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्