बालबालिका र जोखिमयुक्त वर्गको संरक्षण तथा राहतलाई प्राथमिकता दिन ‘जागृति’को माग
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी विपद्को १३औँ दिन बितिसक्दा पनि प्रभावित समुदायको अवस्था चुनौतीपूर्ण रहेको भन्दै बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायको सुरक्षा र अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
बालअधिकार तथा मानवीय क्षेत्रमा क्रियाशील संस्था ‘जागृति बाल तथा युवा सरोकार नेपाल’ (जेसीवाइसीएन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र सुरक्षित रूपमा अघि बढाउन तीनै तहका सरकार तथा सम्बद्ध निकायहरूसँग आग्रह गरेको हो ।
संस्थाले भदौ १० गतेको विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजीलाई तीव्रता दिन अपिल गरेको छ ।
विपद्का कारण अभिभावक गुमाएका तथा परिवारबाट अलग भएका बालबालिकाको संरक्षणलाई राज्यले तत्काल प्राथमिकतामा राख्नुपर्ने संस्थाको ठहर छ ।
‘विपद्को तेह्रौँ दिनसम्म आइपुग्दा पनि प्रभावित समुदायका पीडा, आवश्यकता र चुनौतीहरू यथावत् रहेकाले राहत तथा उद्धार कार्यसँगै बालबालिका, किशोरकिशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको सुरक्षा, संरक्षण र आधारभूत अधिकारको सुनिश्चिततालाई उच्च प्राथमिकता दिन आवश्यक छ । विशेषगरी विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट अलग भएका वा अन्य कारणले जोखिममा परेका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, पुनःस्थापना तथा मनोसामाजिक सहयोग, पहिचानको सुनिश्चित गर्न तत्काल आवश्यक व्यवस्था गर्न तीनै तहका सरकार तथा सम्बन्धित सरोकारवालाहरूलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, विपद्पछिको असहज परिस्थितिको फाइदा उठाउँदै बालबालिकाविरुद्ध हुन सक्ने विभिन्न अपराधहरूबारे सचेत गराउँदै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म प्रभावकारी संयन्त्र परिचालन गर्न विशेष आग्रह गरेको छ ।
‘विपद्पछिको असुरक्षित र असहज परिस्थितिको फाइदा उठाउँदै बालबालिकाको बेचबिखन, बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार तथा अन्य प्रकारका शोषणमा पर्न सक्ने जोखिम उच्च हुने भएकाले यस्ता जोखिमको पहिचान, रोकथाम, निगरानी तथा संरक्षणका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म प्रभावकारी संयन्त्र परिचालन गर्न विशेष आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
विपद् प्रभावित क्षेत्रमा फोहोरमैला तथा मृत पशुपन्छीका कारण पानीजन्य तथा संक्रामक रोग फैलन सक्ने जोखिम उच्च रहेको भन्दै संस्थाले तत्काल सुरक्षित खानेपानी, सरसफाइ र स्वास्थ्य सेवाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
विशेषगरी बालबालिका, गर्भवती, सुत्केरी महिला र ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था निकै संवेदनशील हुने भएकाले उनीहरूको पोषण र स्वास्थ्योपचारमा थप गम्भीर बन्न आग्रह गरिएको छ ।
आपतकालीन अवस्थामा सामाजिक सञ्जालमा फैलिने भ्रामक र विचलित पार्ने सामग्रीप्रति संस्थाले गम्भीर चासो व्यक्त गरेको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले अन्तर्राष्ट्रिय साझेदारहरू ओएनजीडी–एफएनइएल, इएसडिओ बङ्गलादेश, क्यारितास जर्मनी, पिस हिमालय तथा स्थानीय तहसँगको समन्वयमा रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहत, संरक्षण, मनोविमर्श तथा मनोसामाजिक सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ ।
अध्यक्ष तिलोत्तम पौडेल र महासचिव दिपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस दुःखद र संवेदनशील घडीमा विपद्मा ज्यान गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, पीडित तथा प्रभावित समुदायको साथमा एकजुट हुँदै मानवीय सहयोग, उद्धार, राहत तथा संरक्षणका कार्यमा जुट्न सरकार, सुरक्षा निकाय, नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ। विपद्को घडीमा मानवीयता, सहकार्य र संवेदनशीलता कायम गर्दै बालबालिका तथा जोखिममा रहेका सबै व्यक्तिको सुरक्षा र संरक्षण सुनिश्चित गरौँ।’


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्