काठमाडौं । अब जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने भएको छ । सरकारले ग्यास आपूर्ति हुँदा हुँदै पनि काठमाडौं उपत्यकामा अभाव साम्य नभएपछि वैकल्पिक व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको ग्यास उपलब्ध नभएमा समान मूल्यमा अन्य कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
मन्त्रालयका अनुसार हालैको बाढीका कारण आपूर्ति प्रणालीमा अवरोध उत्पन्न हुँदा उपभोक्ताले ग्यास अभावको समस्या भोगिरहेका छन् । उक्त समस्या तत्काल समाधान गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । प्रारम्भिक रूपमा यो व्यवस्था काठमाडौं उपत्यकाभित्र मात्र सीमित रहने जनाइएको छ ।
व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि मन्त्री यादवले नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएकी छन् ।
यसैबीच सरकारले विपद्को अवस्थालाई दुरुपयोग गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा सरकारी निर्देशनको अवज्ञा गर्ने व्यवसायीमाथि कडा निगरानी राखिने जनाएको छ ।
मन्त्री यादवले सरकारको निर्देशन विपरीत कार्य गरेको पाइएमा सम्बन्धित पक्षलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएकी छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्