Skip to content

जेन–जी आन्दोलनको सम्झनामा ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु, फोटोपत्रकारलाई गोली लाग्नुअघिका तस्बिरहरू प्रदर्शनमा

nmb bank inside

जेन–जी आन्दोलनको सम्झनामा ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु, फोटोपत्रकारलाई गोली लाग्नुअघिका तस्बिरहरू प्रदर्शनमा

काठमाडौं । जेन–जी आन्दोलनका सहिद कलाकार विनोद महर्जन तथा घाइते फोटोपत्रकार दीपेन्द्र ढुङ्गानाको विशेष कला प्रदर्शनी ‘प्रतिध्वनि’ आजदेखि काठमाडौंमा सुरु भएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा बुधबारदेखि सुरु भएको उक्त प्रदर्शनी भदौ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका कलाकार महर्जनका कलाकृतिहरूका साथै फोटोपत्रकार ढुङ्गानाले आफूलाई गोली लाग्नुअघिसम्म कैद गरेका ऐतिहासिक तथा अप्रकाशित तस्बिरहरू राखिएको छन् । 

आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर घाइते भएका फोटोपत्रकार ढुङ्गानाले आफू घाइते हुनुभन्दा ठीक अगाडिसम्म माइतीघरदेखि बानेश्वरसम्म खिचेका तस्बिरहरू प्रदर्शनीमा समावेश गरिएको जानकारी दिए ।

‘मलाई भदौ २३ गते बानेश्वरको संसद् भवन अगाडि गोली लागेको थियो लगभग दिउँसोको साढे १ बजेतिर । अनि मलाई गोली लाग्नुभन्दा अगाडि २३ गते खिचेका फोटोहरू, माइतीघरबाट ¥याली सुरु भएदेखिबाट संसद् भवनको गेटसम्म बाहिर मलाई गोली लाग्नुभन्दा अगाडिसम्म के–के फोटोहरू मैले खिचेको थिएँ भनेर मैले रिभ्यु हेर्दा अनपब्लिस्ड फोटोहरू आज यहाँ एक्जिबिसनमा राखिएको छ,’ उनले भने । 

घटनाको क्षण सम्झिँदै ढुङ्गानाले त्यतिबेला भन्दा अहिले ती तस्बिरहरू हेर्दा माहोल निकै डरलाग्दो र काहालीलाग्दो महसुस हुने बताए । 

‘अब यो भदौ २३ अथवा जेन–जी आन्दोलन भएको त्यो दिनलाई सम्झिँदाखेरि त्यो दिन अहिले फोटोहरू हेर्दाखेरि अलि काहालीलाग्दो देखिन्छ, डरलाग्दो देखिन्छ । त्यो त्यतिबेला त्यति डर लागेको थिएन जति अहिले फोटोहरू हेर्दा अहिले त्यहाँको माहोल सम्झिँदा, त्यहाँको त्यतिबेलाको घटनाक्रमहरू हेर्दाखेरिको कस्तो थियो त त्यहाँको परिवेश कस्तो बनेको थियो, अनि कसरी त्यहाँ गोली चल्ने अवस्था पुगेको थियो, आन्दोलन कसरी अगाडि बढेको थियो भन्नेहरू यो फोटोहरूले प्रिजेन्ट गर्छ,’ उनले भने । 

ढुङ्गानाले जेन–जी आन्दोलनको वास्तविक स्वरूप, माइतीघरदेखि बानेश्वरसम्मको घटनाक्रम र तत्कालीन परिवेश बुझ्नका लागि प्रदर्शनी अवलोकन गरिदिन सबैलाई आग्रह समेत गरेका छन् । 

पाँच दिनसम्म चल्ने यस प्रदर्शनीले आन्दोलनको ऐतिहासिक दस्ताबेजीकरण तथा तत्कालीन यथार्थलाई सर्वसाधारणमाझ उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्