काठमाडौं । एउटै सम्बन्धभित्र माया, रिस, असमझदारी हुन्छ र कहिलेकाहीँ द्वन्द्व पनि । यही मानवीय सम्बन्धका अनेक आयामलाई पर्दामा उतार्दै चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि दर्शकमाझ आउँदैछ ।
अभिनेता महेश त्रिपाठीका अनुसार चलचित्रको कथा नेपाली समाज र परिवारभित्र देखिने यिनै सम्बन्ध तथा संवेदनासँग जोडिएकाले दर्शकले यसमा आफ्नै जीवनका केही अंश भेट्न सक्नेछन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार महेश त्रिपाठी, कुशल बिष्ट, केकी अधिकारी र आँचल शर्मा मुख्य अभिनयमा छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा अभिनेता महेश त्रिपाठीले ‘झिँगेदाउ २’ पहिलो भागभन्दा अझ सशक्त, मनोरञ्जनात्मक र भावनात्मक बनेको दाबी गरेका छन् ।
त्रिपाठीले अहिले आफू चलचित्रको छायांकनसँगै ‘झिँगेदाउ २’ को प्रचारमा व्यस्त रहेको बताउँदै निर्देशक ज्ञानेन्द्र देउजाको प्रस्तावपछि आफू चलचित्रमा जोडिएको बताए ।
‘झिँगेदाउ २’ मा आफ्नो भूमिका कस्तो छ भन्नेबारे भने त्रिपाठीले धेरै कुरा खुलाउन चाहेनन्् । दर्शकले आफ्नो चरित्र र त्यसले कथामा खेल्ने भूमिकाबारे जान्न असोज २ गतेसम्म कुर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पहिलो भागको कथा र परिवेशलाई दर्शकले मन पराएका कारण दोस्रो भागमा त्यसलाई अझ विस्तार गर्दै मनोरञ्जन, विषयवस्तु र भावनात्मक पक्षलाई सशक्त बनाइएको छ ।
‘पहिलो भागको सेटअपलाई दर्शकले मन पराउनुभएको छ । अहिले ‘झिँगेदाउ २’ मा त्यहीभन्दा अझ राम्रो रूपमा कथा, मनोरञ्जन, विषयवस्तु र इमोसनलाई प्रस्तुत गर्न खोजिएको छ,’ त्रिपाठीले भने ।
समाज र मानवीय संवेदनासँग जोडिएको कथा
त्रिपाठीले चलचित्रका कथा अन्ततः समाज र मानिसकै जीवनबाट आउने भएकाले दर्शकले कुनै न कुनै रूपमा आफूलाई कथासँग जोड्ने बताए ।
उनका अनुसार चलचित्रमा नाटकीयता वा फरक कोण हुन सक्छ, तर त्यसको केन्द्रमा मानवीय संवेदना हुन्छ । सम्बन्ध, सामाजिक परिवेश तथा मानिसका दैनिक जीवनका विभिन्न पक्ष चलचित्रका कथामा प्रतिविम्बित हुने उनको भनाइ छ ।
‘मान्छेको कथा भनिएको हो भने हामी पनि मान्छे हौँ । त्यसैले कथाका केही न केही अंश हामीसँग रिलेट हुन्छन्,’ उनले भने ।
‘झिँगेदाउ २’ मा दाजुभाइ तथा परिवारभित्रका सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गरिएको उनले बताए । उनका अनुसार सम्बन्ध केवल माया वा झगडामै सीमित हुँदैन । एउटै सम्बन्धभित्र माया, रिस, असमझदारी, द्वन्द्व र अपनत्वजस्ता अनेक भावना एकैपटक जोडिएका हुन्छन् ।
‘सम्बन्धहरू कहिल्यै एउटा आयामका हुँदैनन् । बहुआयामिक हुन्छन् । दाजुभाइको सम्बन्ध देखाउनु आफैँमा चुनौतीपूर्ण विषय हो,’ त्रिपाठीले भने ।
चरित्र बुझ्नु नै चुनौती
कलाकारका रूपमा आफूलाई चरित्रमा डुबाउनुभन्दा पहिले चरित्रलाई बुझ्नु महत्वपूर्ण हुने त्रिपाठीको अनुभव छ । उनका अनुसार स्क्रिप्ट पढ्ने, चरित्रको मनोविज्ञान बुझ्ने र निर्देशकको मार्गदर्शनअनुसार अघि बढ्ने क्रममा पात्रले विस्तारै आकार लिन्छ ।
चरित्र निर्माणका क्रममा कलाकारले आफूलाई नै कथामा प्रतिबिम्बित गर्ने भएकाले त्यसले चरित्र बुझ्न सहयोग पुग्ने उनले बताए ।
‘क्यारेक्टरमा डुब्नुभन्दा पनि क्यारेक्टरलाई बुझ्न गाह्रो हुन्छ । कथामा आफू नै रिफ्लेक्ट भएपछि त्यसलाई खोज्दै जाँदा चरित्र र त्यसको मनोविज्ञान भेटिन्छ,’ उनले भने ।
निर्देशक ज्ञानेन्द्र देउजा लामो समयदेखि नेपाली चलचित्र निर्माणमा सक्रिय र परिपक्व निर्देशक भएकाले उनीसँग काम गर्ने अवसरलाई आफूले महत्वपूर्ण रूपमा लिएको त्रिपाठीले बताए ।
उनी ‘झिँगेदाउ’ को पहिलो भागमा थिएनन् । तर देउजाले प्रस्ताव गरेपछि चरित्रको सम्भावना र महत्वका कारण आफू चलचित्रमा जोडिएको उनको भनाइ छ ।
केकी र आँचलसँग काम गर्दाको अनुभव
त्रिपाठीले अभिनेत्री केकी अधिकारीसँग यसअघि पनि काम गरिसकेको र उनीसँग पुरानै चिनजान रहेको बताए । अभिनेत्री आँचल शर्मासँग भने ‘झिँगेदाउ २’ उनको पहिलो चलचित्र भएको उनले बताए ।
दुवै कलाकारसँग काम गर्दाको अनुभव सहज र रमाइलो रहेको त्रिपाठीको भनाइ छ । कलाकार तथा प्राविधिक टोलीबीच पारिवारिक वातावरणमा काम भएको उनले बताए ।
‘केकीजीसँग काम गर्दा जहिले पनि सौहार्दपूर्ण वातावरण हुन्छ । आँचलसँग पनि अझ राम्रो अनुभव भयो । उहाँहरू कम्फर्टेबल, मेहनती र ट्यालेन्टेड हुनुहुन्छ,’ उनले भने ।
चलचित्रमा संलग्न सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीसँग काम गर्दा पारिवारिक र आत्मीय वातावरण बनेको उनले बताए ।
परिवारभित्रको द्वन्द्वलाई सामान्य मानवीय प्रक्रिया
‘झिँगेदाउ २’ मा देखाइने पारिवारिक द्वन्द्वलाई कुनै निश्चित परिवार वा पात्रको वास्तविकताका रूपमा बुझ्न नहुने त्रिपाठीको धारणा छ ।
उनका अनुसार समाजमा विभिन्न किसिमका परिवार, सम्बन्ध र व्यक्तित्व हुन्छन् । एउटै परिवारमा पनि फरक विचार र दृष्टिकोण भएका कारण द्वन्द्व उत्पन्न हुनु स्वाभाविक हो ।
‘मानव हुनेबित्तिकै कन्फ्लिक्ट हुन्छ । दुईवटा विचार भएपछि द्वन्द्व स्वाभाविक हो, किनकि एउटाको विचार अर्कोको भन्दा फरक हुन्छ,’ उनले भने ।
उनले चलचित्रमा देखाइएका सम्बन्धलाई अहिलेका वा विगतका बुहारी अथवा कुनै निश्चित वर्गसँग मात्र जोडेर हेर्न नहुने बताए । चलचित्रले समाजका विभिन्न घटना र सम्बन्धलाई कलात्मक तथा नाटकीय ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ ।
प्रचार सामग्रीले बढाएको दर्शकको उत्साह
‘झिँगेदाउ २’ का टिजर, पोस्टर तथा गीत सार्वजनिक भएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको त्रिपाठीले बताए ।
विशेषगरी टिजरले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको र चलचित्रप्रति दर्शकमा उत्सुकता बढेको उनले बताए । पछिल्लो समय चलचित्रमा समावेश केकी अधिकारी र आँचल शर्माको तीज गीत पनि चर्चामा रहेको उनको भनाइ छ ।
दर्शकसँग प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्दा चलचित्र हेर्नका लागि उनीहरू उत्साहित रहेको अनुभव आफूले गरेको त्रिपाठीले बताए ।
‘प्यासन पहिले, त्यसपछि पेसा’
चलचित्र क्षेत्रमा आफूले करिब दुई दशकअघि नै भविष्य देखेको त्रिपाठीले बताए । चलचित्रप्रतिको आफ्नो लगावकै कारण निरन्तर यही क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ ।
‘मैले चलचित्र क्षेत्रमा २० वर्ष अगाडि नै भविष्य देखेको थिएँ । प्यासन फस्र्टमा, त्यसपछि पेसा,’ उनले भने ।
तीजलाई ‘झिँगेदाउ २’ को प्रचारसँग जोड्ने तयारी
हालैको महाविपत्तिको दुःखद घटनाबाट नेपाली समाज गुज्रिएको उल्लेख गर्दै त्रिपाठीले बिस्तारै दैनिकी सामान्य अवस्थामा फर्किनुपर्ने बताए । दुःख र पीडालाई भुल्नु सम्भव नभए पनि जीवन अगाडि बढाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
त्यही सन्दर्भमा यस वर्षको तीजलाई चलचित्रको प्रचारसँग जोडेर दर्शकलाई केही समय मनोरञ्जन दिने प्रयास गरिने उनले बताए ।
‘अलिकति चिसिएको मन, अलिकति दुखेको मनलाई असोज २ गते अलिकति भए पनि हँसाउने र इन्टरटेन गराउने उद्देश्यले हामी ‘झिँगेदाउ’ कै प्रमोसनमा यो तीजलाई व्यतीत गर्छौँ,’ उनले भने ।
‘दुःखपछि मुस्कान फर्काउने जिम्मेवारी पनि हो’
समाजमा आएको विपद् वा दुःखपछि सधैँ एउटै शोकमा बसिरहन नसकिने त्रिपाठीले बताए । पत्रकार, कलाकार तथा आम नागरिकले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै समाजलाई बिस्तारै सामान्य अवस्थामा फर्काउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘हाम्रो प्रयास अब मुस्कान फेरि फर्काउने पनि हो । ‘झिँगेदाउ २’ ले त्यो काम गर्छ होला भन्ने लाग्छ । हँसाउँछ, रुवाउँछ र इन्टरटेन गराउँछ,’ उनले भने ।
आफ्नै जीवनसँग जोडिने किसिमका पारिवारिक तथा सामाजिक सम्बन्ध चलचित्रमा देखाइएकाले दर्शकले ‘झिँगेदाउ २’ लाई मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेता त्रिपाठीले बताए । उनले नेपाली चलचित्रलाई माया गर्ने दर्शकलाई असोज २ गतेदेखि ‘झिँगेदाउ २’ हेर्न आग्रहसमेत गरे ।
असोज २ गते हलमा भेट्ने अपेक्षा
अभिनेता त्रिपाठीले नेपाली चलचित्रलाई माया गर्ने दर्शकलाई असोज २ गतेदेखि ‘झिँगेदाउ २’ हेर्न आग्रह गरेका छन् ।
उनका अनुसार चलचित्र नेपालसँगै विश्वका विभिन्न देशमा प्रदर्शनमा आउनेछ । पहिलो भागलाई दर्शकले दिएको मायाका कारण दोस्रो भागप्रति पनि ठूलो अपेक्षा रहेको उनले बताए ।
‘झिँगेदाउ २’ पारिवारिक र सामाजिक चलचित्र हो । पहिलो भागलाई दर्शकले असाध्यै मन पराउनुभएको थियो । दोस्रो भाग अझ सशक्त र मनोरञ्जनको फुल प्याकेजका रूपमा आउँदैछ,’ त्रिपाठीले भने । उनले दर्शकलाई नजिकको सिनेमा हलमा पुगेर चलचित्र हेर्न र आफ्नो प्रतिक्रिया दिन पनि अनुरोध गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्