काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले विशेषगरी नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड अहिले नागरिकका लागि जोखिमको पर्याय बनेको बताए।
उनका अनुसार भदौ २९ गते ताक्सुगाडले बगाएर बारेकोट–४ का २६ वर्षीय रमेश सुनार बेपत्ता भएका छन्। त्यसको तीन दिनअघि मात्रै नलगाड–११ का रतनबहादुर दमाईलाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको उनले बताए।
यस्तै, नलगाड–१ र २ को सीमामा रहेको बाउला खोलाले घर तथा पसलमा ठूलो भौतिक क्षति पुर्याएको उनले जानकारी दिए।
बुढाले साउन ३० गते आएको बाढीले ताक्सुगाडमा चारवटा घर, झोलुङ्गे पुल र अस्थायी कजवे बगाउनुका साथै भेरी करिडोरमा समेत क्षति पुर्याएको बताए। रोलीजिउलाको सिँचाइ नहर क्षतिग्रस्त हुँदा किसानको धानबालीसमेत प्रभावित भएको उनको भनाइ छ।
उनले समस्या भौतिक क्षतिमा मात्रै सीमित नभई नागरिकको जीवन सुरक्षासँग जोडिएको बताए। पुल बगेपछि नागरिक जोखिम मोलेर खोलाबाटै आवतजावत गर्न बाध्य भएको उल्लेख गर्दै उनले पक्की पुल निर्माणको ठेक्का भएको वर्षौँ बित्दा पनि काम सम्पन्न नहुनु गम्भीर विषय भएको बताए।
‘पक्की पुल निर्माणको ठेक्का भएको वर्षौँ बित्दा पनि काम सम्पन्न नहुनु अब सामान्य ढिलाइ होइन, नागरिकको जीवनसँग जोडिएको गम्भीर विषय हो,’ उनले भने।
बुढाले सरकारले तत्काल सुरक्षित वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने, पक्की पुल निर्माण अविलम्ब सम्पन्न गर्नुपर्ने तथा क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडितलाई राहत र पुनर्निर्माणको व्यवस्था गर्नुपर्ने माग गरे। बेपत्ता नागरिकहरूको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिनसमेत उनले सरकारको ध्यानाकर्षण गराए।
‘नागरिकले सरकारसँग दया होइन, सुरक्षित जीवनको अधिकार मागेका हुन्। बाढी आएपछि उद्धार गर्ने होइन, बाढी आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको राज्य चाहिएको छ’ उनले भने।
यसैबीच, वैदेशिक रोजगारीका क्रममा ओमान पुगेकी जाजरकोटकी जेनिसा जैसीलाई त्यहाँ बन्धक बनाइएको भन्ने परिवारको भनाइ रहेको भन्दै बुढाले उनलाई तत्काल नेपाल फर्काउन आवश्यक पहल गर्न सरकारसँग माग गरे।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्