रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो । फेला परेका मृतकको विवरणमा ५४४ पुरुष, ३३६ महिला तथा ५२३ वटा आंशिक मानव अंगहरू रहेका छन् । बाढीमा परेर अझै ६ हजार १५० जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३९४ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ। यस्तै उपचारका क्रममा काठमाडौंमा २ जनाको मृत्यु भएको छ । खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७४२ जनाको सकुशल उद्धार गरिएको छ ।
घाइतेहरूको उपचार तथा स्वास्थ्य व्यवस्थापनतर्फ हाल विभिन्न १९ वटा अस्पतालमा ३४४ जना उपचाररत छन् भने २८९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकायहरूबाट ९ हजार ७०० जनालाई प्राथमिक तथा आकस्मिक उपचार सेवा प्रदान गरिएको छ । शव पहिचानका लागि १ हजार २८६ मृतक तथा १ हजार ८८९ आफन्तको डीएनए नमुना संकलन भइसकेको छ । डीएनए परीक्षणका लागि आफन्तहरूले २ प्रति फोटो र नाता प्रमाणितसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ । उद्धार कार्यमा नेपाली सेनामार्फत हालसम्म १ हजार ६०३ र सशस्त्र प्रहरी बलमार्फत ३२० वटा हवाई उडान सम्पन्न भएका छन् ।
प्रभावित क्षेत्रमा हाल २९ वटा होल्डिङ सेन्टरहरू सञ्चालनमा छन्, जसमा नुवाकोटमा १ हजार १८५, रसुवामा ८१७ र धादिङमा ९४ जना आश्रित छन् । होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेल बढीमा ६ महिनासम्मका लागि सरकारले थप नगद राहत उपलब्ध गराउने भएको छ । जसअन्तर्गत ४ जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र ४ भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप २ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिनेछ ।
यसैबीच प्रभावित जिल्लाहरूमा सडक तथा हवाईमार्गमार्फत राहत सामग्री ढुवानीलाई निरन्तरता दिइएको छ । नुवाकोटको देवीघाटमा ‘एक्रो ब्रिज’ जडान गरी सडक सञ्चालनमा ल्याइएको छ भने इन्धन आपूर्तिका लागि ५९ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। हालसम्म प्रभावित क्षेत्रमा ५०२ थान ग्यास सिलिन्डर समेत पठाइसकिएको प्राधिकरणले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्