Skip to content

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनको तयारीमा छौं : मन्त्री पौडेल

nmb bank inside

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन् ।

साथै उनले लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको गृहकार्यसमेत अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

विमानस्थलमा नियमित उडान हुन नसक्नुको मुख्य कारण यात्रु सङ्ख्या (लोड) नपुग्नु रहेको औँल्याउँदै मन्त्री पौडेलले यसको समाधानका लागि सरकारले बहुपक्षीय रणनीति अपनाइरहेको बताए ।

‘अहिले धेरै नै एयरलाइन्स कम्पनीहरूसँग कुरा गरिरहेको छु । सबैले देखाउने कन्सर्न मुख्य रूपमा प्यासेन्जरको सङ्ख्या नपुगेको भन्ने हो । इच्छुक छौँ, जान तयार छौँ भन्नुभएको छ । प्यासेन्जरको सङ्ख्या कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरूसँग पनि छलफल गरिरहेका छौँ। नेपाली नागरिक श्रम बजारमा जाने एउटा पाटो हो, त्यो बाहेक पनि संसारभरका धेरै बौद्धमार्गी वा बुद्ध जन्मस्थल आउन चाहने पर्यटकहरू हुनुहुन्छ। उहाँहरूलाई यहाँ नै अवतरण गराउन सकिने वातावरण बनाउनु पहिलो काम हो,’ उनले भने, ‘खासमा एयरपोर्ट बन्द भएको होइन, चालु नै छ । रेगुलर फ्लाइट नपाउनुको महत्वपूर्ण कारण प्यासेन्जरको सङ्ख्या नपुगेको भनेर एयरलाइन्सहरूले भनेका छन् ।’

मन्त्री पौडेलले श्रीलंका, भियतनाम, म्यानमार र भुटानजस्ता बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेका मुलुकका राजदूतहरूसँग नियमित उडानका लागि व्यक्तिगत रूपमै छलफल अघि बढाइएको जानकारी दिए ।

बौद्ध तीर्थयात्रीहरूलाई पहिलो उडानबाटै बुद्ध जन्मस्थल लुम्बिनीमा अवतरण गराउने अवधारणामा सरकारले काम गरिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सुविधा र छुट वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई काठमाडौं धाइरहनुपर्ने बाध्यता अन्त्य गर्न अनलाइन श्रम स्वीकृति सुरु भइसकेको र पोखरा तथा भैरहवाबाटै मेडिकल जाँचको प्रबन्ध मिलाउन लागिएको मन्त्री पौडेलले बताए । साथै, म्यानपावर कम्पनीहरूलाई लुम्बिनी विमानस्थल वरपर केन्द्रित गराउन श्रम मन्त्रालयसँग सहकार्य भइरहेको उनले स्पष्ट पारे ।

लुम्बिनी विकास कोषको पदलाई परराष्ट्र मन्त्रालय र राजदूत सरहको संवेदनशील जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री पौडेलले यसमा संवेदनशील भएर नियुक्ति गर्नुपर्ने बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्