काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरिएको हो ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले बिदाइ गरेका थिए ।
बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि राम्रो प्रदर्शन गर्दै पदक जित्ने लक्ष्य रहेको बताए ।
‘पहिला पनि हामीले खेलेका थियौं । त्यहीअनुसार सबै साथीहरूले अनुभव पनि लिइसकेका छन् । टिम पनि राम्रो छ । हाम्रो लक्ष्य पदक जित्ने नै हो, त्यसैको लागि जाँदैछौं । खेलाडीहरूको मनोबल उच्च छ,’ उनले भने ।
क्यानका सचिव पारस खड्काले देशमा आएको बाढीको दुःखद घटनापछि नेपाली क्रिकेट टोलीसँग समग्र देशलाई खुसी दिने अवसर रहेको बताए ।
‘देशमा आएको बाढीको दुःखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर छ । सबैजनालाई आफ्नो बेस्ट दिनुहोला भन्न चाहन्छु,’ खड्काले भने ।
नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले क्वाटरफाइनलबाट अगाडि बढ्न उत्कृष्ट क्रिकेट खेल्नुपर्ने बताए । उनले नेपाली खेलाडीहरूले त्यसका लागि क्षमता राख्ने उल्लेख गर्दै पदक जित्ने आशा व्यक्त गरे ।
‘हामीले क्वाटरफाइनलबाट अगाडि बढ्न राम्रो क्रिकेट खेल्नुपर्छ । हाम्रा खेलाडीहरूले त्यो गर्न सक्छन् भन्ने विश्वास छ । आशा छ, हामी कुनै पदक अवश्य जित्न सक्नेछौं,’ उनले भने ।
एसियन गेम्सका लागि नेपाली टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।
नेपालले एसियन गेम्सको समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरण पार गरेपछि क्वाटरफाइनलमा नेपालको सामना भारत वा श्रीलंकामध्ये एक टोलीसँग हुनेछ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्