काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने भएको छ ।
रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बैठक समितिका संयोजक तथा पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको थियो ।
बैठकमा महामन्त्री आचार्यसहित समिति सदस्य गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो ।
बैठकमा ‘राइट टु रिकल’ अवधारणाले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
सोहीअनुसार ‘राइट टु रिकल’ सम्बन्धी बहसलाई थप विस्तार गर्दै त्यससम्बन्धी दस्तावेज निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले समितिको सचिवमा मनिष खनाललाई जिम्मेवारी दिने निर्णय गरेको छ। साथै, समितिअन्तर्गत विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत भएको छ ।
संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समितिमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय समितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय समितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
रास्वपाले ‘राइट टु रिकल’लाई पार्टीले प्राथमिकताका साथ उठाउँदै आएको मुद्दाका रूपमा अघि बढाएको जनाएको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्