काठमाडौं । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाक्यले सामान्य ट्राफिक विवाद वा जरिवानाको विषयका रूपमा मात्रै घटनालाई हेर्न नहुने बताए।
उनले भने, ‘यो घटनालाई एउटा सामान्य जरिवाना, ट्राफिक विवाद वा चालकको आवेशका रूपमा मात्रै हेरियो भने हामी ठूलो भुल गर्नेछौँ।’
शाक्यले सडकमा कानुन र व्यवस्था कायम हुनुपर्ने भए पनि सामान्य नियम उल्लङ्घनको विषय कसरी यति उग्र अवस्थामा पुग्यो भन्ने प्रश्नको जवाफ राज्यले दिनुपर्ने बताए।
‘एउटा सामान्य नियम उल्लङ्घनको विषय कसरी यतिसम्म उग्र बन्यो कि एक श्रमजीवी नागरिकले राज्यको संयन्त्रहरूकै अगाडि आफ्नो जीवन समाप्त पार्ने कठोर निर्णय लिनुप¥यो भन्ने प्रश्नको जवाफ राज्यले दिनुपर्छ,’ उनले भने।
उनले घटनाले प्रशासनिक संयन्त्रमा मानवीय संवेदनाको अभाव तथा श्रमजीवी नागरिकले भोगिरहेको मानसिक र आर्थिक दबाबको गम्भीरतालाई उजागर गरेको बताए।
शाक्यले प्रहरी प्रशासनलाई सर्वसाधारणसँग मर्यादित, व्यावसायिक र विवाद न्यूनीकरण गर्ने व्यवहार अपनाउन आवश्यक तालिम तथा स्पष्ट निर्देशन दिन सरकारसँग माग गरे।
‘नियम पालना गराउने क्रममा प्रहरीको व्यवहार डर र त्रास सिर्जना गर्ने होइन, उत्तरदायी र संवेदनशील हुनुपर्छ,’ उनले भने।
सांसद शाक्यले सडक नागरिकका लागि सुरक्षा र भरोसाको थलो हुनुपर्ने भन्दै निराशा र आत्मदाहको बिन्दु बन्न नहुने बताए।
उनले घटनाको यथार्थ र कारणबारे स्पष्ट जानकारी दिन गृहमन्त्री तत्काल प्रतिनिधिसभामा उपस्थित हुनुपर्ने माग गरे।
‘यस घटनाको यथार्थ र यसका कारणहरूबारे स्पष्ट जानकारी दिन माननीय गृहमन्त्रीज्यू तत्काल यस सदनमा उपस्थित हुनुहुन म माग गर्दछु,’उनले भने।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्