Skip to content

‘महिला आन्दोलनको सहखोजी’ : नयाँ पुस्ताका लागि महत्त्वपूर्ण अभिलेख

nmb bank inside

काठमाडौं । लैङ्गिक समानता र सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्था द स्टोरी किचनसँगको सहकार्यमा ‘सन्धान’ले महिलाको जीवन भोगाइ, संघर्ष र योगदानका कथाहरूको सङ्गालो ‘महिला आन्दोलनको सहखोजी’ पुस्तकको दोस्रो श्रृङ्खला लोकार्पण गरेको छ ।

कार्यक्रममा बोल्दै जेनजी एवं महिलावादी अभियन्ता मोनिका निरौलाले पुस्तकले महिलाले महिलाकै कथा भन्नुपर्ने आवश्यकतालाई फेमिनिस्ट दृष्टिकोणबाट प्रभावकारी रूपमा पुष्टि गरेको बताइन् ।

उनले भनिन्, ‘किताबको महत्त्व के छ भन्ने विषयमा कसैलाई पनि दुईमत छैन होला । फेमिनिस्ट दृष्टिकोणबाट महिलाले महिलाको कथा भन्न किन आवश्यक छ भन्ने कुरालाई एकदमै सफलतापूर्वक पुष्टि गरेको छ ।’

उनले पुस्तकमा महिलाका सरोकार, भोगाइ, संस्कार, संस्कृति, रीतिथिति, कानुन, संवैधानिक अधिकार, ऐतिहासिक आन्दोलनमा महिलाको भूमिका तथा योगदान र नयाँ–पुराना चुनौतीहरू समेटिएको बताइन् ।

‘कथा, इतिहास, महिलाको अनुभव र भोगाइहरूको जुन आलेख छ, त्यसले इतिहाससँगसँगै आजको पुस्ताको चुनौती र भोलि आउने पुस्ताका लागि एउटा महत्त्वपूर्ण अभिलेखका रूपमा यो किताब रहेको छ,’ उनले भनिन् ।

निरौलाले पुस्तकमार्फत पुस्तान्तरणको महत्त्वपूर्ण अभ्यास भएको पनि बताइन् । उनले महिलावादी आन्दोलनका अनुभव र संघर्षलाई आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

सन्धानले हरेक लेखक र फेलोलाई मेन्टरसँग जोडेर एउटा पुस्ताको सीप तथा ज्ञान अर्को पुस्तासँग आदानप्रदान गर्ने प्रक्रिया अघि बढाएको भन्दै उनले त्यसलाई महत्त्वपूर्ण अभ्यासका रूपमा व्याख्या गरिन् ।

उनले महिलावादी अध्ययन विधिले महिला तथा संघर्षरत समुदायलाई पीडितका रूपमा मात्र नभई सचेत संघर्षकर्ताका रूपमा हेर्नुपर्नेमा पनि जोड दिइन् ।

यस्तै, कार्यक्रममा द स्टोरी किचनकी प्रोग्राम लीड तथा कार्यकारी प्रमुख गर्तिका बज्राचार्यले महिलाका नसुनिएका आवाज, भोगाइ, संघर्ष, योगदान, भूमिका र ज्ञानलाई अभिलेखीकरण गरी आगामी पुस्तामा हस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताइन् ।

उनले भनिन्, ‘महिलाका नसुनिएका आवाजहरू, भोगाइहरू, इतिहासमा गणना गर्न नै महत्त्वपूर्ण नठानिएका संघर्ष, भोगाइ, योगदान, भूमिका र ज्ञानलाई सङ्कलन गरी अभिलेख गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य पनि हो ।’

बज्राचार्यले महिलावादी दृष्टिकोणबाट इतिहास लेखन गर्ने यात्रा एक्लो नभएको बताउँदै ‘महिला आन्दोलनको सहखोजी’को पहिलो श्रृङ्खलाबाट सुरु भएको यात्रा दोस्रो श्रृङ्खलासम्म आइपुगेको बताइन् । साथै यो लेखन र प्रकाशन यात्रा निरन्तर रहने पनि बताइन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्