क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा
जनकपुर । जनकपुरधामस्थि रामस्वरुप रामसागर बहुमुखि क्याम्पस (राराब)को पठनपाठन तथा परीक्षा प्रभावित हुँदै गएको छ । कुनै समय प्रतिभाशाली जनशक्ति उत्पादन गर्ने देशभरमै प्रख्यात रहेको जनकपुरधामको राराब क्याम्पस राजनीति गर्ने थल बन्दै गएको छ ।
राजनीतिक खिचातानी र आन्तरीक विवादका कारण क्याम्पसको दैनिक पठनपाठन मात्र नभई, प्रशासनिक र परीक्षाहरु पनि नराम्ररी प्रभावित भइरहेको विद्यार्थीहरुको गुनासो छ ।
करीब एक हप्तादेखि क्याम्पसमै विद्यार्थीहरु धर्ना दिँदै आइरहेका छन् । उनीहरुले क्याम्पस प्रमुख बसन्तलाल कर्णले आर्थिक अनियमितता तथा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । क्याम्पस प्रमुख कर्णले प्रक्रिया मिचेर निर्माण कार्यदेखि क्याम्पसको नाममा भनेर अन्य नीजि सामानहरु खरिद गर्नुका साथै विभिन्न होटेलमा गएर मौजमस्ती गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
क्याम्पस प्रमुखले विना सूचिकृत र विना टेन्डर गरेर प्रशासनिक सामानहरु खरीद गरेको प्रमाणसमेत आफूहरुसंग उपलब्ध रहेको क्याम्सका विद्यार्थी मनिष यादवले आज (बिहीबार)पत्रकारसम्मेलन गरेर जानकारी गराएका छन् ।
उनले क्याम्पस प्रमुख कर्णलाई केही दिन अघि ज्ञापन पत्र बुझाएर आर्थिक हिसाब सार्वजनिक गर्न आग्रह गर्दा प्रमुख कर्णले कुनै वास्ता नगरेपछि आफूहरु बाध्य भएर क्याम्पसमै धर्ना दिन बाध्य भएको सुनाए ।
त्यस्तै क्याम्पसका अर्का विद्यार्थी गौतम यादवले क्याम्पसमै अथिति गृह हुँदाहुँदै क्याम्पस प्रमुखले होटलमा अथितिलाई बसाई १० लाख रकम तिरेको प्रमाण आफूहरुसंग रहेको भन्दै यस्ता क्रियाकलापको भत्र्सना गरेका छन् ।
क्याम्पसमा कुनै खाना बनाउने कार्य, भोज भतेर आदि नभएको खण्डमा खाद्यान्य शिर्षकमा समेत क्याम्पस प्रमुखले लाखौंको सामान खरीद गरेको बिल भुक्तानी पाइएकोप्रति विद्यार्थी गौतम यादवले क्याम्पस प्रमुखले अनियमितता गर्दै आएको प्रस्ट भएको दाबी गरेका छन् ।
उनले २७ कार्यक्रमको विना सूचना कोटेसनका माध्यमबाट क्याम्पस प्रमुख कर्णले निर्माण लगायतका कार्यहरु गर्दै आएको आरोप समेत लगाएका छन् । विद्यार्थी यादवले ४८ घण्टाभित्र आफूहरुले मागेको विवरणहरु उपलब्ध नभए क्याम्पस प्रमुख कर्णलाई कालोमोसो समेत गर्नै चेतावनी दिए ।
यता, क्याम्पस प्रमुख कर्णले हिजो (बुधबार) पत्रकार सम्मेलन गरेर केही विद्यार्थी र कर्मचारीहरुले नियोजित ढंगले आफूलाई हटाउन क्याम्पसको वातावरण विगार्ने कार्य गर्दै आएको बताएका थिए । उनले आफू आएदेखि विद्यालयमा पठनपाठनदेखि परीक्षासम्म सबै सुधार भएको दाबी गरेका छन् । तर विद्यार्थीहरुले प्रमुख कर्णको दाबी झुटो रहेको भन्दै विरोध गर्दै आएका छन् ।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्