बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक
काठमाडौं । बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।
जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले बद्री अर्यालसँगको मित्रताको चर्चा गर्दै राजनीतिक यात्रामा लामो समयको सहयात्री रहेको उल्लेख गरे ।
पुस्तक लेखन प्रकाशन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता लेखन प्रकाशनको निरन्तरताको कामना समेत गरे ।
पुस्तकको समीक्षा गर्दै नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ समृद्ध नेपाल निर्माणका लागि आवश्यक आर्थिक आधार, सोच र दृष्टिकोण निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने पुस्तकका रूपमा चर्चा गरे ।
उनले मुलुकलाई समृद्ध बनाउने विषयमा पर्याप्त आधार प्रस्तुत गर्ने यस पुस्तकको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी राजनीतिकर्मीहरूले आफ्नो आर्थिक दृष्टिकोण निर्माण गर्न पुस्तकले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।
त्यसैगरी वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ माथि समीक्षा गर्दै राजनीतिक यात्रामा प्रवेश गर्न चाहने नयाँ पुस्ताका लागि पुस्तक उपयोगी रहेको बताए ।
उनले राजनीतिक दलभित्र नेतृत्वको भूमिका, कार्यकर्ताको जिम्मेवारी, दलको वैधानिकता, राजनीतिक आचरण, इमानदारिता तथा राजनीतिक दृष्टिकोण निर्माणजस्ता विषयलाई पुस्तकले गम्भीर रूपमा उठाएको उल्लेख गर्नुभयो। राजनीतिको अर्थ, उद्देश्य र दलभित्रको जिम्मेवारी बुझ्न चाहनेहरूका लागि पुस्तक अध्ययनयोग्य रहेको उनको धारणा थियो।
वरिष्ठ साहित्यकार नवराज लम्सालले दुवै पुस्तकको समीक्षा गर्दै लेखकको लेखन र पुस्तकको प्रस्तुति पक्षको प्रशंसा गरे ।
उनले पुस्तकलाई सिर्जनात्मक र विशिष्ट लेखनका रूपमा चर्चा गर्दै यसको प्रकाशनका लागि लेखकलाई धन्यवाद दिए । साथै, मुलुकको समृद्धि, राजनीति र अर्थतन्त्रका विषयमा चासो राख्ने सम्पूर्ण नागरिकका लागि दुवै पुस्तक पठनीय रहेको बताए ।
तीस वर्ष मुनिकी अधिवक्ता एवं स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडी करिना पुरीले नयाँ पुस्तालाई लक्षित गर्दै पुस्तकको अध्ययनको आवश्यकता औल्याइन् ।
उनले विशेषगरी युवा तथा नयाँ पुस्ताले मुलुक निर्माणका विषयमा आफ्नो धारणा र दृष्टिकोण निर्माण गर्न यस्ता पुस्तक अध्ययन गर्नुपर्ने बताउँदै दुवै पुस्तकमा प्रस्तुत विषयवस्तु र लेखनको प्रशंसा गरिन् ।
पुस्तकले नयाँ पुस्तालाई राष्ट्र निर्माणप्रति सोच्न र जिम्मेवारीबोध गर्न प्रेरित गर्ने सन्देश दिएको भन्दै उनले लेखकलाई धन्यवाद दिइन् ।
पुस्तकका प्रकाशक हरि पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जय नेपाल फाउण्डेसनका संस्थापक सदस्य तथा अधिवक्ता प्रकाश रावलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा वक्ताहरूले नेपाल निर्माण र समृद्धिको बहसलाई केवल राजनीतिक नारामा सीमित नराखी आर्थिक दृष्टिकोण, राजनीतिक संस्कार, नेतृत्वको जिम्मेवारी, सुशासन, उत्पादन, उद्यमशीलता र नागरिक दायित्वसँग जोडेर हेर्नुपर्ने विषयमा समेत जोड दिएका थिए।
बद्री अर्यालद्वारा लिखित यी दुई पुस्तकले नेपालको समृद्धिका लागि आवश्यक आर्थिक र राजनीतिक दृष्टिकोणलाई अलग–अलग कोणबाट प्रस्तुत गरेका छन्।
‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ मा उत्पादन, उद्यमशीलता, आर्थिक राष्ट्रवाद, आत्मनिर्भरता, रोजगारी र आर्थिक रूपान्तरणका विषयलाई केन्द्रमा राखिएको छ भने ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ मा राजनीतिक नेतृत्व, दलको भूमिका, लोकतान्त्रिक संस्कार, राजनीतिक आचरण, सुशासन र राष्ट्र निर्माणमा राजनीतिक शक्तिको जिम्मेवारीका विषय उठाइएको छ।
दुवै पुस्तकलाई नेपालको समृद्धि र राजनीतिक–आर्थिक रूपान्तरणका विषयमा सार्वजनिक बहस विस्तार गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्