काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा पार्टी सभापति गगनकुमार थापा रहेका छन् ।
समितिमा उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित केन्द्रीय सदस्यहरू रहेका छन् । प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई सदस्य सचिव तोकिएको छ ।
त्यस्तै आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे र मिडिया सेन्टर प्रमुखमा जीवन भण्डारीलाई जिम्मेवारी दिइएको छ ।
सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त तथा महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापतिलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश तथा स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा रहेका छन् ।
यसैगरी भोजन व्यवस्थापन समितिको संयोजकमा तिलक रानाभाट, आवास व्यवस्थापन समितिमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापन समितिमा विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई जिम्मेवारी दिइएको छ ।
कांग्रेसले विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप सदस्यका रूपमा राखेको छ ।
महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सहज रूपमा सञ्चालन गर्न विभिन्न क्षेत्रअनुसार जिम्मेवारी बाँडफाँट गरिएको कांग्रेसले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्