कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्दै महर्जनले भने– ‘ज्ञान र अनुभव हस्तान्तरण गर्न चाहन्छु’
काठमाडौं । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।
सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महर्जनले आफू दुई पटक महानगरको मेयर भइसकेकाले स्थानीय तहमा हासिल गरेको ज्ञान, सीप र अनुभव पार्टीमार्फत अन्य जनप्रतिनिधिसम्म पुर्याउन उम्मेदवारी दिन लागेको बताए ।
उनले भने, ‘म नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छु ।मेरो उम्मेदवारी यसकारण किनभने दुई पटक महानगरको मेयर भइसकेँ। मिडियाकर्मी साथीहरूले असल काम गरेको मेयर भनेर जसरी चर्चा गर्नुहुन्छ, मसँग भएको ज्ञान, अनुभव र सीप ललितपुर महानगरपालिकामा आर्जन गरेको छु। त्यो ज्ञान, सीप मजस्तै भविष्यमा आउने मेयर र स्थानीय जनप्रतिनिधिहरूलाई ट्रान्सफर गर्नका निमित्त पनि मेरो उम्मेदवारी हो।’
महर्जनले कांग्रेसभित्र देखिएका समस्या इगोका रूपमा नलिएर समाधान गर्नुपर्ने बताए। जुनियर–सिनियरको विभेद तथा फरक विचारलाई अन्यथा रूपमा लिने प्रवृत्ति कांग्रेसभित्रको समस्या भएको उनको भनाइ छ ।
‘कांग्रेसभित्रको मुद्दाहरूलाई इगोको रूपमा नलिई मिलाउने कोसिस गर्छु। अहिले समस्या भनेकै इगोको रूपमा लिएको छ । जुनियर–सिनियर भन्यो, वर्षको भिन्नतालाई आधार मान्यो, बोलेको कुरा राम्रै बोले तापनि त्यसलाई अन्यथा रूपमा ग्रहण गर्यो। यो भनेको इगोको कारण नै हो,’ उनले भने ।
उनले कांग्रेसभित्र इगोको समस्या अन्त्य गर्न आफूले भूमिका खेल्ने बताए उनले कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रस्तावको पनि प्रशंसा गरे । उनले प्रस्तावमा उल्लेख गरिएका विषयको १०–१५ प्रतिशत मात्रै कार्यान्वयन गर्न सके पनि मुलुकमा ठूलो परिवर्तन आउने दाबी गरे ।
‘अहिले प्रस्तुत गरिएको राजनीतिक प्रस्ताव एकदमै राम्रो छ । यो मुलुकलाई कायापलट गर्नका निमित्त त्यो राजनीतिक प्रस्तावको १०–१५ प्रतिशत मात्र हामीले लागू गर्न सक्यौँ भने पनि यो मुलुकमा कायापलट हुन्छ,’ उनले भने ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्