Skip to content

श्रीमानका कारण होइन, स्वेच्छाले उम्मेदवारी नदिएको हुँ : कमला पन्त

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेत्री कमला पन्तले स्वेच्छाले १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेकी छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पन्तले आफूले आफ्नै इच्छाले उम्मेदवारी नदिएको बताइन्। उनले पदमा नरहे पनि पार्टीको काम गर्न सकिने भन्दै यसपटक अरूलाई अवसर दिन उम्मेदवारी नदिएको बताइन्।

उनले भनिन्, ‘सधैँ उठ्नैपर्छ भन्ने छैन नि त। म पार्टीको कार्यकर्ता हुँदै हो। म पार्टीको काम गर्न पदमै नभए पनि काम गर्न पाइहाल्छु। अब अरू साथीहरूलाई सहयोग गर्ने हो । म पार्टीका लागि मात्रै अपरिहार्य मान्छे त होइन नि ।’

आफ्नो उम्मेदवारी नदिनुको कारण घरव्यवहारसँग जोडेर आएका समाचार गलत भएको पनि पन्तले स्पष्ट पारिन्। उनले आफू र श्रीमानले आ–आफ्नो राजनीति र काम गर्दै आएको बताउँदै एकअर्काको उम्मेदवारीका कारण आफू पछि नहटेको बताइन्।

‘हामीले आफ्नो–आफ्नो राजनीति ग¥या छौँ, आफ्नो–आफ्नो काम ग¥या छौँ। त्यसमा केही होइन। घरायसी कारणले होइन नानी, केही पनि छैन। म लड्नलाई उहाँको कारणले रोकिने, उहाँ लड्नलाई मेरो कारणले रोकिने भन्ने छैन हाम्रो त्यस्तो,’ उनले भनिन्।

पन्तले यसअघि पनि विशेष महाधिवेशनमा आफू उम्मेदवार नबनेको र पछि पार्टी नेताहरूले मनोनित गर्न खोज्दा पनि आफूले स्वीकार नगरेको बताइन्। सहमहामन्त्री पदमा थोरै मतले पराजित भएको स्मरण गर्दै उनले भविष्यमा इच्छा लागे पुनः चुनावी मैदानमा उत्रिने बताइन् । उनका श्रीमान मधु आचार्य चुनावी मैदानमा छन् । 

पन्त १२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्