काठमाडौं । दसैँ नजिकिँदै गर्दा बढेको हवाई भाडादरप्रति गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमत भएका छन्।प्रधानमन्त्री बालेन्द्र शाहले चाडपर्वको समयमा हवाई टिकटको मूल्य बढाइएको विषयमा चासो देखाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतामा यसबारे छलफल अघि बढाइएको हो।
यसै क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा यात्रुलाई राहत पुग्ने गरी स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने विषयमा सहमति जुटेको क्यानले जनाएको छ।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार अब वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सक्नेछन्। यसका साथै यात्रुले टिकटको वास्तविक मूल्यबारे सहजै जानकारी पाउन सकून् भनेर छुट वा कायम गरिएको भाडादर सम्बन्धित कम्पनीका बिक्री तथा वितरण प्लेटफर्ममा सार्वजनिक गर्नुपर्ने सहमति भएको छ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र त्यसैको मौका छोपेर टिकट महँगो बनाइएको गुनासो आउने गरेको अवस्थामा नयाँ व्यवस्थाले यात्रुलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्