Skip to content

नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सरको उपचार

nmb bank inside

काठमाडौं । नेपालमै विकसित र उत्पादित कार–टी सेल प्रयोग गरी पहिलोपटक क्यान्सरका बिरामीको उपचार गरिएको छ । 

सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा सम्पन्न यस उपचारलाई नेपालको क्यान्सर उपचार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा एक्यूट लिम्फोब्लास्टिक ल्युकेमिया (रक्त क्यान्सरको एक प्रकार) बाट पीडित बिरामीलाई गत असोज ११ गते कार–टी सेल चढाइएको हो ।

सीआरएम नेपालका अनुसार बिरामीको स्वास्थ्य अवस्था हाल स्थिर छ र उनी स्वास्थ्यलाभ गरिरहेका छन् ।

उपचारको प्रभावकारिता, क्यान्सर पूर्ण रूपमा नियन्त्रणमा आएको अवस्था (रिमिसन) र उपचारको प्रभाव कति समयसम्म कायम रहन्छ भन्ने मूल्याङ्कनका लागि चिकित्सक टोलीले बिरामीको नियमित निगरानी गरिरहेको छ ।

उपचारमा संलग्न चिकित्सक टोलीको नेतृत्व गरेका हेमाटो–अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठले यस उपलब्धिले नेपालमा क्यान्सर उपचारको क्षेत्रमा नयाँ सम्भावना खोलेको बताए । 

उनका अनुसार विशेषगरी केमोथेरापीपछि पुनः क्यान्सर देखिएका वा केमोथेरापीले प्रभावकारी काम नगरेका केही प्रकारका रक्त क्यान्सरका बिरामीका लागि कार–टी सेल थेरापी उपयोगी हुन सक्छ । यस उपचार पद्धतिको विकाससँगै यस्ता उपचारका लागि भारत र चीनलगायतका देशमा निर्भर रहनुपर्ने अवस्था कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

कार–टी सेल थेरापीमा बिरामीकै शरीरबाट टी–सेल नामक प्रतिरक्षा कोष निकालेर आनुवंशिक रूपमा परिमार्जन गरिन्छ । 

त्यसपछि क्यान्सर कोषमा रहेको निश्चित लक्ष्य पहिचान गरी आक्रमण गर्न सक्ने बनाइएका ती कोषलाई प्रयोगशालामा वृद्धि गरी पुनः बिरामीको शरीरमा चढाइन्छ। सीआरएम नेपालले उत्पादन गरेको कार–टी सेलले केही प्रकारका रक्त क्यान्सरमा पाइने सीडी–१९ नामक मार्करलाई लक्षित गर्छ ।

सीआरएम नेपालका प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमले उपचारको प्रारम्भिक नतिजा उत्साहजनक रहेको जानकारी दिए । 

उनका अनुसार बिरामीको रगतमा कार–टी सेलको सङ्ख्या अपेक्षित रूपमा बढेको र उपचारको प्रारम्भिक सकारात्मक प्रभाव देखिएको छ । यद्यपि, उपचारको समग्र प्रभावकारिता र दीर्घकालीन परिणाम निर्धारण गर्न थप निगरानी तथा मूल्याङ्कन आवश्यक रहेको उनले बताए ।

डा. गौतमले सन् २०२२ देखि यस परियोजनाको नेतृत्व गर्दै वैज्ञानिक विशेषज्ञता, आर्थिक स्रोत, अन्तर्राष्ट्रिय साझेदारी र प्राविधिक सहयोगलाई एकीकृत गरेका थिए । 

उनको नेतृत्वमा असल उत्पादन अभ्यास (जीएमपी) मापदण्डअनुरूप प्रयोगशाला स्थापना, प्रविधि हस्तान्तरण, उत्पादन तथा गुणस्तर नियन्त्रणसम्बन्धी क्षमता विकास, जनशक्ति तालिम र नियामकीय प्रक्रियामा काम गरिएको सीआरएम नेपालले जनाएको छ ।

परियोजना सन् २०२२ देखि २०२४ सम्म प्रिक्लिनिकल अनुसन्धानबाट अघि बढाइएको थियो । सन् २०२५ मा प्रयोगशालाले स्वीकृति प्राप्त गर्नुका साथै जनशक्ति तालिम र उत्पादनसम्बन्धी तयारी पूरा गरिएको थियो । सन् २०२६ मा सीआरएम नेपालको सीडी–१९ लक्षित कार–टी सेल उत्पादनले नेपालमा क्लिनिकल प्रयोगका लागि स्वीकृति प्राप्त गरेको संस्थाले जनाएको छ ।

सीआरएम नेपालको उत्पादन तथा प्रयोगशाला टोलीले उपचारका लागि आवश्यक स्थानीय उत्पादन प्रणाली स्थापना र सञ्चालन गरेको हो । 

प्रत्येक बिरामीका लागि छुट्टाछुट्टै सेल उत्पादन गर्ने तथा तिनको गुणस्तर मूल्याङ्कन गर्ने जिम्मेवारी टोलीले निर्वाह गरेको थियो। डिकोड जेनोमिक्सले गुणस्तर विश्लेषणसम्बन्धी क्षमता विकासमा सहयोग गरेको संस्थाले जनाएको छ ।

यसैगरी, प्राज्ञिक रणनीति तथा सहकार्यमा लिंकन विश्वविद्यालयका प्राध्यापक डा. ओम कुर्मीले मार्गदर्शन गरेका थिए । उनले उन्नत उपचार पद्धतिलाई नेपालको स्वास्थ्य तथा शैक्षिक प्रणालीमा एकीकृत गर्दै जैविक औषधि अनुसन्धान र औषधि विकासको संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

सीआरएम नेपालको क्लिनिकल सहकार्य विस्तारमा संलग्न डा. सुधांशु केसीले आर्थिक तथा व्यावहारिक कठिनाइका कारण विदेश गएर उपचार गराउन नसक्ने बिरामीलाई समेत उन्नत उपचार उपलब्ध गराउने संस्थाको दीर्घकालीन लक्ष्य रहेको बताए । 

राष्ट्रिय स्तरका सहकार्य तथा दैनिक सञ्चालनको समन्वय गरेका जेनेटिसिस्ट बलराम गौतमले थप बिरामीलाई उपचार सेवा उपलब्ध गराउन स्थानीय क्षमता विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

कार–टी सेल थेरापीको क्लिनिकल व्यवस्थापनमा सेलुलर थेरापी क्षेत्रका विज्ञ तथा लाइनिज इन्स्टिच्युट फर इम्युनोथेरापीका प्राध्यापक लुका गाटिनोनी र रेगेन्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक लियो हान्समानले सुझाव दिएका थिए । 

नियामकीय विषयमा डा. दिलिप शर्माले विशेषज्ञ सहयोग उपलब्ध गराएका थिए भने सेल उत्पादनदेखि बिरामीलाई चढाउने प्रक्रियासम्मको व्यवस्थापन वेदानन्द पराजुलीले गरेका थिए ।

नेपालमै कार–टी सेल उत्पादन गरी बिरामीको उपचार सम्भव हुनुले देशमा उन्नत सेल थेरापीसम्बन्धी अनुसन्धान, उत्पादन, गुणस्तर परीक्षण र दक्ष जनशक्ति विकासका लागि नयाँ आधार तयार भएको डा. गौतमले बताए । यसले भविष्यमा अन्य उन्नत उपचार पद्धतिको विकास र विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

सीआरएम नेपाल अनुसन्धान, सेल उत्पादन, गुणस्तर मूल्याङ्कन, जनशक्ति तालिम तथा क्लिनिकल सहकार्यमार्फत उन्नत सेल थेरापी र इम्युनो–अन्कोलोजी क्षेत्रमा स्थानीय क्षमता विकास गर्ने उद्देश्यले स्थापित संस्था हो ।

नेपाल तथा विदेशमा रहेका नेपाली विशेषज्ञको नेतृत्वमा सञ्चालित यस संस्थाले नेपाललगायत अन्य देशका बिरामीसम्म उन्नत उपचार प्रविधि पुर्याउने लक्ष्य राखेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्