Skip to content

‘बैसाखी’ कथासंग्रहमाथि विमर्श, धनगढी साहित्य सम्मेलन गरिने

nmb bank inside

‘बैसाखी’ कथासंग्रहमाथि विमर्श, धनगढी साहित्य सम्मेलन गरिने

धनगढी । कथाकार यज्ञराज जोशीद्वारा लिखित कथासंग्रह ‘बैसाखी’को गृहविमोचन तथा आगामी मङ्सिर १९ देखि २१ गतेसम्म आयोजना हुने धनगढी साहित्य सम्मेलनको तयारीका विषयमा छलफल गरिएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा आज उक्त कार्यक्रम गरिएको हो।

बैसाखीमाथि समीक्षा गर्दै समीक्षक गणेश जोशीले कथाकारले आफूले देखे, भोगे र सुनेका कुरालाई सुन्दर रुपमा कथामा उतारेको बताए। ’पुस्तकमा विविधतायुक्त कथा छन्। उहाँले आफूले देखे, भोगे र सुनेका कुरालाई निकै आकर्षक रुपमा कथामा बुन्नु भएको छ। कथामा मनोवैज्ञानिक प्रयोग भए पनि उहाँका कथाहरू सामाजिक एथार्थबाट प्रेरित छन्,’ जोशीले भने।

कथाबाट लेखकले शान्ति, समानता, सद्भाव र मानवताको कामना गरेको आफूले पाएको उनको भनाइ थियो। उनले कथामा आञ्चलिक शब्दको प्रयोगले कथालाई थप आकर्षक बनाएको बतचाए।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले बैसाखीमा लेखक जोशी नदेखिएका र नदेखिएका विषयको उद्घाटन गर्न सफल भएको बताए । उनले जोशीमा पात्रको मनोविज्ञान खोतल्नसक्ने शैली बलियो रहेको बताए। उनले सपाट रुपमा कथा बगेका बताएका थिए।

कुलपति नेपालले साहित्य सम्मेलनका लागि पनि प्रज्ञाले सक्दो सहयोग गर्ने र त्यसको तयारी लागि आफूहरूले बसेर थप छलफल गर्ने बताएका थिए।

राष्ट्रिय सभा सदस्य नारायण मिश्रले साहित्यमा सुदूरपश्चिमको बलियो उपस्थिति हुँदै गएको भन्दै खुसी व्यक्त गरे। उनले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले भाषा, साहित्य प्रतिको आकर्षण घट्दै गएकोमा बैसाखी जस्ता कृति नेपाली साहित्यले पाउनु सुखद् पक्ष भएको धारणा राखे।

सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बैसाखीको सफलताका लागि शुभकामना व्यक्त गरे। यस्तै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सिनेट सदस्य धर्मदेव भट्टले जोशीलाई आफूले विद्यार्थी हुँदादेखिनै साहित्यमा सक्रिय युवाका रुपमा चिनेकोमा अहिले बैसाखीमार्फत आख्यान क्षेत्रमा आएको देख्दा खुसी लागेको बताए।

नेपाली कांग्रेसका नेता क्षितिज भण्डारीले पढन संस्कृति हराउँदै गएको अवस्थामा युवा पुस्ताको साहित्यमा आकर्षण हुनु सुखद् पक्ष भएको बताए। उनले प्रत्येक विद्यालय र कलेजमा यस्ता पुस्तक र लेखकलाई प्रमोट गर्न सकेमात्र पठन संस्कृतिको विमास हुने बताए।

चैतन्य ग्रुपका सीईओ गणेश जोशीले बैसाखीमा सुदूरको माटोका कथा भएको बताए। उनले आफूले यस्ता पुस्तक अध्ययनका लागि सधैँ प्रेरित गर्ने गरेको धारणा व्यक्त गरेका थिए।

उनले बैसाखीले साहित्यका क्षेत्रमा नयाँ मानक स्थापित गर्न सफल होस् भन्दै शुभकामना व्यक्त गरेका थिए। पर्यटन व्यवसायी कमल बमले बैसाखीको सफलताको शुभकामना व्यक्त गर्दै साहित्य सम्मेलनका लागि आफूले आवस्यक सहयोग गर्ने बताएका छन्।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बैसाखीमार्फत बोगटानका थुप्रै गाउँबस्तीका कथा बाहिर आएको बताए। उनले जोशीको लेखनीमार्फत ओझेलका पात्र र नलेखिएका ठाउँको चित्रण भएको पाउँदा खुसी लागेको बताए। उनले आफ्नो पालिकामा पनि पुस्तक अध्ययनका लागि प्रमोट गर्ने बताए।

यस्तै सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले सुदूरपश्चिम आख्यानका क्षेत्रमा बलियो रुपमा आइरहेको बताएका थिए। ’सुदूरपश्चिमबाट पछिल्लो समय थुप्रै कथाकार आउनु भएको छ। यो हाम्रा लागि सुखद् पक्ष हो। यसले नेपाली साहित्यको विकासमा ठूलो योगदान पुर्‍याएको छ,’ उनले भने।

धनगढी साहित्य सम्मेलनबारे चर्चा गर्दै अध्यक्ष जोशीले विगतमा सुरु भएको साहित्यिक सम्मेलनको टुटेको शृङ्खलालाई पुनः निरन्तरता दिन लागिएको जानकारी दिएका थिए। मङ्सिर १९ देखि २१ गतेसम्म हुने सम्मेलनले धनगढीलाई साहित्यिक तथा बौद्धिक विमर्शको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने उनको विश्वास थियो।

यसैगरी, सुदूरपश्चिमाञ्चल साहित्य समाजका उपाध्यक्ष टोपेन्द्र शाहले स्वागत मन्तव्य राख्दै २०५५ सालमा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै धनगढीलाई बौद्धिकता र चेतनाको सहरका रूपमा विकास गर्न निरन्तर काम गर्दै आएको बताए।

संस्थाले नियमित रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले मङ्सिरमा हुने साहित्य सम्मेलनको तयारी भइरहेको जानकारी दिए। उनले कथाकार यज्ञराज जोशीलाई कथासंग्रह प्रकाशनका लागि शुभकामना पनि व्यक्त गरे।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्