Skip to content

पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

nmb bank inside

पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेपालमा पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको अवस्था बढ्दै गएको भन्दै सञ्चारकर्मीहरूलाई आफ्नो स्वतन्त्रता र सुरक्षाबारे प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक घटनाक्रमबारे धारणा राख्दै शर्माले पत्रकारहरूले आफ्नो विमति र असन्तुष्टि निर्भयतापूर्वक व्यक्त गर्न सक्ने वातावरण हुनुपर्ने बताए ।

उनले भने, ‘पत्रकार साथीहरू नै असुरक्षित भइरहेको यो बेलामा चाहे प्रतिपक्षका अगाडि उभिँदा होस्, चाहे सिंहदरबार अगाडि, बालुवाटार अगाडि उभिएर प्रधानमन्त्रीज्यूका सामुन्ने उभिँदै गर्दा होस्, पत्रकार साथीहरूले आफ्नो विमतिलाई खरो ढंगले राख्दै हुनुहुन्छ होला भन्ने मलाई अपेक्षा थियो । मैले तपाईंहरूमध्ये कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’

नेता शर्माले सञ्चारमाध्यममाथि भएका घटनामा पत्रकार तथा मिडिया हाउसले निरन्तर प्रश्न उठाउनुपर्नेमा पछिल्लो समय त्यसबारे पर्याप्त फलोअप नभएको टिप्पणी गरे । उनले मिडिया हाउसमाथि गाडी राखिएको घटनालाई स्मरण गर्दै त्यसबारे छानबिनको अवस्था र तथ्य सार्वजनिक नभएको भन्दै प्रश्न उठाए ।

उनले भने, ‘हामीले सोध्यौँ, मिडिया हाउसमाथि अघिल्तिर गाडी किन राखियो ? तपाईंहरूले फलोअप न्युज लेख्न छोड्नुभयो । त्यो गाडी ल्याएर राख्ने कुराको पछिल्तिर सत्तारूढ पार्टीले पनि सरकारलाई निर्देशन गर्यो, छानबिन गर, तथ्य लेऊ भनेर । आयो तथ्य ? छानबिनको फाइल कहाँ छ ? तथ्य कहाँ छ ? त्यो निर्देशन दिने रास्वपा कहाँ छ ? त्यो समाचार छाप्ने मिडियाका साथीहरू कहाँ हुनुहुन्छ ?’

उनले सञ्चारमाध्यममाथि दबाब र हस्तक्षेप हुँदा त्यसको प्रभाव समग्र लोकतान्त्रिक व्यवस्थामै पर्ने बताए । प्रतिपक्षी दलले उठाएका विषयसमेत आम नागरिकसम्म पुर्‍याउने माध्यम सञ्चारमाध्यम नै भएकाले प्रेस स्वतन्त्रता कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने उनको भनाइ थियो ।

‘हाम्रो स्वर तपाईंहरूमार्फत नै पुग्ने हो । तर तपाईंहरूकै स्वर प्रस्तुत गर्ने माध्यम कमजोर भयो भने, लोकतन्त्रमा मिडियालाई कमजोर बनाइयो, निरन्तर ह्यारेस गरियो भने त्यो साँचो अर्थमा लोकतन्त्र रहँदैन,’ उनले भने ।

शर्माले कुनै पनि देशमा लोकतन्त्रको अवस्था मापन गर्ने प्रमुख आधार स्वतन्त्र र निर्भय प्रेस रहेको बताए । निर्वाचन हुनु मात्रै लोकतन्त्रको पर्याप्त आधार नभएको उल्लेख गर्दै उनले पत्रकारले निर्भयतापूर्वक लेख्न र बोल्न पाउने अवस्था हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसारको कुनै पनि देशमा लोकतन्त्र छ कि छैन भन्ने आधार त्यहाँ हुने निर्वाचन होइन । कुनै पनि देशमा लोकतन्त्र छ या छैन भन्ने कुराको सबैभन्दा बलियो आधार र मानक के हो भने, त्यो देशको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् या पाउँदैनन्, पाइरहेका छन् या छैनन् भन्ने हो ।’

पत्रकारहरूले प्रतिपक्षी दलका अगाडि मात्रै नभई सरकार र सत्तासामुन्ने पनि आफ्नो असन्तुष्टि तथा विमति स्पष्ट रूपमा राख्न सक्नुपर्ने उनको भनाइ थियो । नेपाली सञ्चारमाध्यम कमजोर भइसकेको अवस्था नआओस् भन्ने कामना गर्दै उनले पत्रकारहरूलाई आफ्नो व्यावसायिक धर्म र प्रेस स्वतन्त्रताको पक्षमा निर्भयतापूर्वक उभिन आग्रह गरे ।

शर्माले नेपालको संविधान, शान्ति प्रक्रिया तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने संघर्षमा सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहेको पनि स्मरण गरे ।

उनले भने, ‘नेपालमा बनेको संविधान, शान्ति प्रक्रिया र नेपालले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था स्थापित गर्न राजनीतिक दलहरू मात्रै होइनन्, सबैभन्दा अग्रपंक्तिमा लडेको मिडिया हो । मिडियालाई उच्च सम्मान गर्दै नेपाली कांग्रेस पार्टीको तर्फबाट त्यो सम्मान व्यक्त गर्दै यो प्रश्न मैले तपाईंहरूलाई राखेँ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्