Skip to content

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजी नेपाल फेस्टिभलमा सहभागी, नेपाली समुदायको योगदानको प्रशंसा

nmb bank inside

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजी नेपाल फेस्टिभलमा सहभागी, नेपाली समुदायको योगदानको प्रशंसा

फोटो/ भिडियो सौजन्य : प्रदीप तिमल्सिना, नेपाल न्यूज बैंक 

सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अस्ट्रेलियाको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । 

सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा शनिबार आयोजित नेपाल फेस्टिभल २०२६ लाई सम्बोधन गर्दै उनले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भएको भेटको स्मरण गरे । उनले नेपाल–अस्ट्रेलिया सम्बन्धबारे चर्चा गर्दै अस्ट्रेलियामा नेपाली मूलका वरिष्ठ प्रहरी अधिकृत प्रकाश भारतीले पुर्याएको योगदानको प्रशंसा गरे । 

नेपाल फेस्टिभलमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्स, अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष सांसद झी सुन, सांसद मिसेल रोल्यान्ड, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर, एनआरएनए न्यु साउथ वेल्सकी राज्य संयोजक उषा किरण बरिया पोखरेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, एनआरएनएका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरू सहभागी थिए । 

महोत्सवमा सहभागी विशिष्ट अतिथिहरूलाई नेपाली ढाकाटोपी र गलाबन्दी पहिराएर स्वागत गरिएको थियो। नेपाली राष्ट्रिय झण्डाको चन्द्रसूर्य अंकित प्रतीकसहित गरिएको स्वागतले नेपाली संस्कृति, पहिचान र आतिथ्य परम्परालाई झल्काएको थियो ।

सन् २००६ मा सिड्नीबाट सुरु भएको नेपाल फेस्टिभल अहिले अस्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा र पहिचान प्रवद्र्धन गर्ने एनआरएनएको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा विकसित भएको छ । दुई दशकको यात्रामा यो उत्सव अस्ट्रेलियाका विभिन्न सहरमा विस्तार हुँदै नेपाली समुदाय र अस्ट्रेलियाली समाजबीच सांस्कृतिक आदानप्रदान तथा आपसी सम्बन्ध विस्तार गर्ने साझा मञ्च बनेको छ ।

यस वर्षको फेस्टिभलमा नेपाली कला र संगीतले पनि विशेष आकर्षण थपेको छ । गायक अनिल सिंह, गायिका रचना रिमाल तथा गायक सुदिन पोखरेललगायत कलाकारहरूको सांगीतिक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको छ ।

नेपाली कला, संस्कृति, भाषा, संगीत र पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ चिनाउने उद्देश्यले आयोजित नेपाल फेस्टिभल २०२६ ले नेपाली समुदायको एकता, सांस्कृतिक गौरव र अस्ट्रेलियाली समाजसँगको बढ्दो सम्बन्धलाई थप उजागर गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्