Skip to content

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड

nmb bank inside

हेटौँडा । तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना गरिएको छ।

हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा कञ्चनजङ्घा कृषि सहकारी संस्थाको आयोजनामा दुईदिने मेला सञ्चालन गरिएको हो। शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ। मेलामा स्थानीय उद्यमीले उत्पादन गरेका विभिन्न सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन्।

तिहारमा आवश्यक पर्ने सामग्री एकै ठाउँमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो। मेलामा २० वटा स्टल राखिएका छन्। ती स्टलमा ढाकाका टोपी, पछ्यौरा, फूलमाला, भाइ मसला लगायत तिहारमा प्रयोग हुने विभिन्न सामग्री राखिएका छन्।

स्थानीय उद्यमीले आफ्नै उत्पादनसहित मेलामा सहभागिता जनाएका छन्। यसले उपभोक्तालाई स्थानीय उत्पादनबारे जानकारी लिन तथा उत्पादकसँग प्रत्यक्ष सम्पर्क गरी सामग्री खरिद गर्न सहज बनाएको छ।

कञ्चनजङ्घा कृषि सहकारी संस्थाकी अध्यक्ष चिनीमाया गुरुङले स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पहुँच पु¥याउने र उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन्। उद्यमीहरूबीच भेटघाट तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्नु पनि मेलाको उद्देश्य रहेको उनको भनाइ छ।

स्थानीय स्तरमा उत्पादित सामग्रीले बजार पाउने वातावरण निर्माण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ। चाडपर्वका बेला बाहिरबाट आयातित सामग्रीको प्रयोग बढिरहेका बेला स्थानीय उत्पादनलाई प्राथमिकता दिन र स्थानीय उद्यमीलाई प्रोत्साहन गर्न मेला उपयोगी हुने आयोजकको विश्वास छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्