Skip to content

प्राकृतिक विपद्का बीच लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग व्यवस्थापन, ५८७ मेगावाट निर्यात

nmb bank inside

काठमाडौँ । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ ।

आन्तरिक माग पूरा गरी भारततर्फ ५८७.३० मेगावाट विद्युत्समेत निर्यात गरिएको छ ।

प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो । उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । 

सो समयमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युत्को उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र उपभोक्तालाई धन्यवाद दिएका छन् ।

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका अधिकारीसहित भार प्रेषण केन्द्र पुगेर विद्युत्को माग र आपूर्तिबारे जानकारी लिएका थिए । उनले विगत तीन वर्षको लक्ष्मीपूजाको माग र आपूर्तिको तथ्यांक विश्लेषण गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए ।

उनले विद्युत्को सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकोमा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि खटिने कर्मचारीको योगदानको प्रशंसा गरे । आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन प्रतिबद्धताका साथ काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।

प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गर्नु प्राधिकरणका लागि चुनौतीपूर्ण थियो ।

प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग १ हजार ७४५ मेगावाट र २०८१ सालमा १ हजार ६०२ मेगावाट थियो । यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो । त्यस्तै, काठमाडौँ उपत्यकाको विद्युत् माग यस वर्ष ४८९ मेगावाट पुगेको छ । गत वर्ष यो माग ४०२ मेगावाट थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणाली अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहित आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको थियो । कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्