तीन दशक विदेशमा बिताएका केडियालाई चाडपर्वले सिकाएको सांस्कृतिक एकताको सन्देश
काठमाडौं । नेपालमा दशैं, तिहार र छठजस्ता पर्व पारिवारिक भेटघाट र सांस्कृतिक उत्सवका रूपमा मनाइन्छन् । तर, बाल्यकालदेखि नै देशबाहिर अध्ययन गरेका सीताराम गोकुल मिल्क्स प्रालिका निर्देशक तथा नेपाल डेरी एशोसियसनका पूर्व अध्यक्ष सुमित केडियाका लागि भने नेपाली चाडपर्वको अनुभव अरूको भन्दा केही फरक छ ।
कक्षा ७ देखि नै दार्जिलिङलगायत नेपालबाहिर अध्ययन गरेका केडियाले करिब ३० वर्ष विदेशमा बिताए । छात्रावासमा साथीभाइसँग चाडपर्व मनाउने गरे पनि नेपालमा परिवार र आफन्तसँग बसेर दशैं, तिहार तथा छठ मनाउने अवसर उनले खासै पाएनन् ।
विदेशमा लामो समय बिताएर नेपाल फर्किएपछि उनले नेपाली समाजको सांस्कृतिक विविधतालाई नजिकबाट अनुभव गर्ने अवसर पाएका छन् । उनका विचारमा नेपालका विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको विविधता नै मुलुकको सुन्दर पक्ष हो । त्यसलाई जोगाउन एकअर्काका चाडपर्व र संस्कृतिप्रति सम्मान आवश्यक छ ।
‘हामी बाहुन, क्षेत्री, लामा, तामाङ जे भए पनि सबैले एकअर्काको संस्कृति र धर्मलाई सम्मान गर्नुपर्छ । पहिले सुन्दर बगैंचामा सबै मिलेर बसेजस्तै अहिले पनि विविधताबीच एकता कायम राख्नुपर्छ,’ केडियाले भने ।
उनका अनुसार दशैं, तिहार र छठजस्ता पर्वले फरक समुदायबीचको दूरी घटाउन र आपसी सम्बन्ध बलियो बनाउन सहयोग गर्छन् । त्यसैले चाडपर्वलाई कुनै एउटा समुदायको धार्मिक परम्पराका रूपमा मात्र नभई सामाजिक सद्भाव कायम गर्ने अवसरका रूपमा पनि लिनुपर्ने उनको धारणा छ ।
व्यक्तिगत रूपमा भने तिहारमा उनको प्राथमिकता परिवारसँग लक्ष्मीपूजालगायत धार्मिक गतिविधिमा सहभागी हुनु हो । तर, डेरी उद्योगमा आबद्ध भएकाले त्यसका लागि पनि समय व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
केडियाका अनुसार डेरी उद्योगमा चाडपर्व भनेर काम रोकिने अवस्था हुँदैन । गाईभैंसीले दूध दिन नछाड्ने र उपभोक्ताको माग निरन्तर रहने भएकाले उद्योग वर्षभरि २४ सै घण्टा सञ्चालन गर्नुपर्छ । त्यसैले चाडपर्वमा पनि उद्योगको जिम्मेवारी पूरा गर्दै परिवारलाई समय दिनुपर्ने बाध्यता छ ।
उनका लागि तिहार केवल पूजाआजा र पारिवारिक भेटघाटको अवसर मात्र होइन, नेपालको विविधतायुक्त सामाजिक र सांस्कृतिक पहिचानलाई सम्मान गर्ने अवसर पनि हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्