Skip to content

संस्कृति संरक्षणमा पत्रकार

nmb bank inside

संस्कृति संरक्षणमा पत्रकार

विराटनगर । तिहारमा देउसी–भैलो खेल्ने परम्परा पछिल्लो समय मनोरञ्जन र औपचारिकतामा सीमित हुँदै गइरहेका बेला विराटनगरका पत्रकारहरूले भने संस्कार, संस्कृति र मौलिक लोकपरम्पराको संरक्षणलाई समेत प्राथमिकतामा राखेर सामूहिक देउसी खेलेका छन् । 

यस पटकको देउसीमा अरुण उपत्यकाको मौलिक लोकभाकाका वरिष्ठ गायक हरिबहादुर खत्रीले अरुण उपत्यकाको लोकलय र भाकालाई देउसीमै समेट्दै टोलीको नेतृत्व गरेपछि विराटनगरको देउसी थप मौलिक र आकर्षक बनेको थियो । 

तिहारको अवसरमा पत्रकारहरूको टोली विराटनगरका विभिन्न व्यक्तित्व, उद्योगी–व्यवसायीका घर, सरकारी कार्यालय तथा सुरक्षा निकायका कार्यालयमा पुगेर देउसी खेलेको थियो । 

देउसीमार्फत मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली समाजका मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्त्व उजागर गर्ने प्रयास गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले बताए ।

उनका अनुसार पत्रकारहरूको देउसीमा अरुण उपत्यकाको लोकभाकालाई समेटेर त्यसलाई आकर्षणको केन्द्र बनाउने काम वरिष्ठ गायक खत्रीले गरेका थिए ।

आधुनिक गीतसङ्गीत र नयाँ शैलीको प्रभावले मौलिक देउसीको पहिचान ओझेलमा पर्दै गएको अवस्थामा खत्रीले आफ्नो क्षेत्रको लोकभाका र गायन परम्परालाई देउसीसँग जोडेर सांस्कृतिक पहिचान संरक्षणको सन्देश दिएका थिए ।

अरुण उपत्यकाको लोकभाका मनोरञ्जनको माध्यम मात्र नभई त्यस क्षेत्रको जीवनशैली, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक सम्पदा हो । 

लोकगायक खत्रीको गायन र भट्याइले देउसीलाई परम्परागत स्वाद दिनुका साथै नयाँ पुस्तालाई मौलिक लोकलयसँग परिचित गराएको थियो । 

जिल्ला प्रशासन कार्यालय, मोरङमा पुगेको पत्रकारहरूको टोलीलाई प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गर्दै तिहारले दाजुभाइ, दिदीबहिनी तथा परिवारका सदस्यबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सामाजिक सम्बन्ध र आत्मीयतालाई पनि बलियो बनाउने बताए ।

जिल्लामा कार्यरत आफूहरू पनि एउटै पवित्र सम्बन्ध र भावनाले बाँधिएर काम गरिरहेको उल्लेख गर्दै कटेलले पत्रकार, प्रशासन र सुरक्षा निकायबीचको सम्बन्धलाई पारिवारिक आत्मीयतासँग तुलना गरे । 

तिहारले सबैको जीवनमा खुसी, सुरक्षा र उज्यालो ल्याओस् भन्दै प्रजिअ कटेलले सबैका मनोकामना पूरा होऊन्, यमराजको भय नहोस् र सबै दीर्घजीवी भएर मुलुक तथा नागरिकको सेवामा समर्पित हुन सकून् भन्ने कामना गरे । 

पत्रकारहरूको देउसी हेर्न कटेलका वृद्ध बुबाआमासमेत उपस्थित थिए। प्रजिअ कटेलसहित उनका परिवारका सदस्य, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पनि पत्रकारहरूले संस्कार र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले आफ्नो घरमा पुगेको पत्रकारहरूको देउसी टोलीलाई स्वागत गर्दै देउसी–भैलो नेपाली समाजको मौलिक परम्परा, सामाजिक एकता र आपसी सद्भावको प्रतीक भएको बताए । 

तिहारलाई टीका, माला र मनोरञ्जनमा मात्र सीमित नगरी यससँग जोडिएका सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । नयाँ पुस्तालाई पुर्खाबाट हस्तान्तरण हुँदै आएका संस्कार र परम्पराबारे बुझाउन सामूहिक देउसीजस्ता गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने राउतले बताए ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा मोरङको रंगेली नगरपालिकाका पूर्वप्रमुख दिलीप बगडिया पत्रकारहरूको टोली आफ्नो घरमा देउसी खेल्न आउने जानकारी पाएपछि पर्खिएर बसेका थिए । आफू नियमित रूपमा राजनीति र समाजसेवामा सक्रिय रहेको उल्लेख गर्दै उनले सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि आफ्नो चासो रहेको बताए ।

नेपाल पत्रकार महासंघ, मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारहरूले सामूहिक रूपमा देउसी खेल्नु मनोरञ्जनका लागि मात्र नभई संस्कार, संस्कृति र परम्पराको संरक्षणप्रतिको सामाजिक जिम्मेवारी निर्वाह गर्ने प्रयास भएको बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्