विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । ‘चार वर्ष भयो भाइटिकामा बहिनीहरुसँग टिका नलगाएको । यस पटक त नेपाल गएर टिका लगाउन पाइन्छ कि भनेर योजना बनाउँदै थिए तर सम्भव भएन’, लण्डनमा बसोबास गर्ने बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी तिहार सम्झदै न्यास्रो मानिरहेका छन् ।
दाङ घोराहीका स्थायी बासिन्दा पत्रकार योगी पेशाका शिलशिलामा विदेश बस्न थालेका थुप्रै भयो । उनी सम्भव भएसम्म नेपाल आउन खोज्छन् । नेपाली चाडपर्व र संस्कृतिलाई हृदयदेखी सम्मान गर्ने योगी नेपाल जान नसक्दा लण्डनमै आफूलाई व्यस्त राख्ने प्रयत्न गर्छन् । चार जना बहिनीका दाजु पत्रकार योगी यस पटक सामाजिक सञ्जालकै माध्यमबाट बात मार्दै, कथा–व्यथा साट्दै, भलाकुशारी गर्ने र त्यहीबीचमा बहिनीहरुसँग टिका लगाइ माग्ने योजनामा छन् ।
योगीमात्र यस्ता एक्ला दाजुभाइ होइनन् जो सामाजिक सञ्जालका माध्यमबाट तिहार मान्ने सोचमा छन् । उनी जस्ता विदेशमा रहेका थुप्रै दाजुभाइ नेपालमा रहेका दिदीबहिनीसँग सामाजिक सञ्जाल र टेलिफोनका माध्यमबाट तिहार मनाउँदै टिका लगाउने योजनामा छन् ।
काभ्रे पलाञ्चोकको चुरिथुम्काका समर खड्का यस्तै अर्का पात्र हुन् जसले दुई वर्षदेखी भाइटिकामा दिदीबहिनी भेट्न पाएका छैनन् । एक दशक भयो उनी रोजगारीको शिलशिलामा साउदी अरबको दमाम शहरमा बसिरहेका छन् । निकै रमाइलोसँग तिहार मान्ने अनुभव बोकेका खड्कालाई तिहार नजिकिदै गर्दा नरमाइलो लाग्न थाल्छ । उनी भन्छन्, ‘तिहार मान्न मन त छ नि । दिदीबहिनीलाई भेटेर टिका लगाउन मन त लागेको छ तर यहाँ दमामबाट भेट्न सम्भव छैन ।’
खड्का भिडियो कलमार्फत दिदीले अरु दाजुभाइलाई टिका लगाएको दृश्यमा नै खुसी हुन्छन् । उनी आफ्नो पीडा पुन : पोख्छन्, ‘उहाँ त तिहारको दिन पनि काम गर्नुपर्छ । फोन गरेरै भए पनि टिका थाप्ने फुर्सद मिलाउन गाह्रो छ । कामकोबीचमा लन्चको समयमा दिदीलाई फोन गरि अरु दाजुभाइले टिका लगाएको हेर्छु र त्यसैमा खुसी हुन्छु ।’
अष्ट्रेलियाको पर्थमा बस्ने दामोदर भण्डारीको अवस्था पनि यस्तै छ । नेपालगञ्जका स्थायीबासिन्दा भण्डारी एक भाइ र एउटी दिदी मात्र भएको कुरा बताउँदै भावुक हुन्छन् र भन्छन्, ‘हामी दिदी भाइ अलग अलग हुँदा निकै समस्या छ । यस्तो अवस्थामा हामीलाई अर्कोसँग टिका थाप्ने लगाउने अवसर पनि मिल्दैन ।
पत्रकार पेशामा संलग्न रहेका भण्डारीले तीन वर्ष भयो तिहारमा दिदीको हातको टिका लगाउन पाएका छैनन् । उता दिदीले पनि भाईलाई टिका लगाउन नपाएर दुखी भएको भण्डारी बताउँछन् । भण्डारी यस पटक सामाजिक सञ्जालबाटै दिदीलाई भेट्ने योजनामा छन् । उनी भन्छन्, ‘सञ्जालबाटै दिदीलाई भेट्छु र आर्शिवाद थाप्छु ।’
उनी थप्छन्, ‘टिकाको साइटमा दिदीलाई फोन गर्ने, फोन गरेर दिदीबाट आशिर्वाद लिने, दिदीलाई पनि आशिर्वाद दिने । विभिन्न नेपाली परिकारका खानिकुरा खाने त्यसैगरी मनाउने हो।’
भण्डारी टिभी तथा सामाजिक सञ्जालमा तिहारका धुन पनि सुन्न सक्दैनन् । तिहार झल्किने गीतहरुले नै आँखाबाट आँसु झर्ने उनी सुनाउँछन् । ‘टिभीमा नेपाली यो तिहार झल्किने गीतहरु सुन्ने बित्तिकै मैले चेन्ज गर्छु किनभने आँखाबाट आँसु आउन थाल्छ । त्यही भएर मैले त्यो मेरो वाइफले तिहारको गीत लाउन थाल्यो तिहारको धुन लाउन थाल्यो भने म तुरुन्तै चेन्ज गर्न लगाइहाल्छु,’ भण्डारी भावुक हुँदै भने ।
यस्तै अवस्था कञ्चरपुरको महेन्द्रनगरस्थित ऐँठपुर घर हुने भवानी भट्टको पनि छ । भट्ट अहिले जापानको टोकियोमा बस्नै आएका छन् । भट्टको दुईजना दिदी मध्ये एकजना काठमाडौ र अर्को महेन्द्रनगरमा नै छीन् । सञ्चार व्यवसायमा आवद्ध भट्ट पनि दिदीहरुलाई सम्झिदै न्यास्रो मान्छन् र नरमाइलो मान्दै तिहार सम्झन्छन् । उनी तिहारका दिन काठमाडौ र महेन्द्रनगरमा भएकी दिदीसँग फोन गरेरै कुरा गर्ने योजनामा छन् । उनी भन्छन्, ‘नेपाल जान सकिएन । फोन र सामाजिक सञ्जालवाहेक अर्को विकल्प छैन । सामाजिक सञ्जालबाट दिदीको मुख हेर्दै टिका लगाएको अनुभूती सँगाल्छु ।’
यसैगरी पूर्व सञ्चारकर्मी तथा स्तम्भकार तर हाल अन्य पेशामा कार्यरत कुमार कार्की भन्छन्, ‘परदेशिहरुको चाडवाड कि त सप्ताहन्तको छुट्टिमा आउछ कि अर्को साल आउछ भन्ने कथन छ, हाम्रो अवस्था पनि यही हो ।’
रोजगारीका सन्दर्भमा साउदी अरबको रियादमा बस्ने कार्की परदेशमा रहेका नेपालीको अवस्था अभिव्यक्त गर्छन्, ‘नेपालीले अरु चाडवाड सरह नै तिहार पनि मनाउदै आएका छन् ।’
उनका अनुसार सहजता हुनेहरुले परदेशमा सँँगै रहेका चेलिवेटीहरुबाट भाई टिका ग्रहण गर्छन् । केहिले आफैले बनाएका नजिकका चेलिबेटीहरुबाट टिका ग्रहण गर्ने गरेका छन् । नेपालमा रहेका दिदी बहिनीहरुलाई विभिन्न संचार माध्यमबाट संवाद गरि शुभकामना साटासाट गर्ने गर्दछन् ।
मोरङको उर्लाबारीका स्थायीबासिन्दा कार्की परदेशमा रहेका नेपालीहरुका लागि विगतका वर्षहरुमा भन्दा हालको आधुनिक युगमा चाडबाड मनाउन अलि सहज, सरल हुँर्दै गएको बताउँछन् । उनी भन्छन्, ‘विशेष गरि मध्यपुर्वका देशहरु साउदी, कतार, युएई, वहराईन, कुवेत, ओमन लगायतका देशमा उल्लेख्य मात्रमा नेपालीहरु छन्, हामीहरु यही पनि नेपाली समुदायमा संलग्न भइ भाइटिका र दिपावली मनाउदै आएका छौ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्