काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको तथा पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको विषयलाई लिएर आन्दोलन घोषणा गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध नगराइएको विषय पनि उठाएको छ ।
महासंघले सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने महासंघले जनाएको छ । यस्तै, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम छ ।
त्यसैगरी मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने महासंघले जनाएको छ ।
महासंघका अनुसार मंसिर ९ गते सबै जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने कार्यक्रम तय गरिएको छ ।
महासंघले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्